arrow

काठमाडौँको ढलमा देखियो पोलियो जीवाणु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
dhal-ktm.jpg
फाइल तस्बिर

काठमाडौँ । काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागले शुक्रबार यहाँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए ।  

दुई नदीको सङ्गम स्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलो पटक हो ।

नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । 

'अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,' उनले भने, 'ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ ।'

खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए ।

उनका अनुसार थाइल्यान्डको बैंककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गम स्थलबाट गरिएको हो । 

नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप-३’ जीवाणु हो ।

'टुकुचा र बागमतीको सङ्गम स्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,' उनले भने । 

उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ ।

अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस सङ्क्रमित नहुन् भनेर खोप अभियान सञ्चालन गरिएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ