arrow

राप्ती प्रतिष्ठानले प्रकाशन शुरु गर्‍यो आफ्नै वैज्ञानिक जर्नल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
jrahs-81-4-4.jpg

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसँग सम्बन्धी अध्ययन र अनुसन्धानको कामलाई अघि बढाउन आफ्नै प्रथम संस्करणको जर्नल प्रकाशन शुरु गरेको छ । 

संस्था स्थापनाको लामो समयपछि शैक्षिक कार्यक्रम अघि बढाएको प्रतिष्ठानले आफ्नै पहलकदमी र प्रयासमा पहिलोपटक अनुसन्धानमुलक कामलाई प्रभावकारी बनाउन  आफ्नै साइन्टिफिक जर्नल – जर्नल अफ राप्ती एकेडेमी अफ हेल्थ साइन्सेज (जेआरएएचएस)" जर्नल प्रकाशनको आरम्भ गरेको हो । 

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले शैक्षिक संस्थामा आफ्नै जर्नल हुनु अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको बताउँदै अब प्रतिष्ठानमा कार्यरत वा अन्य विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुले आफूले गरेको खोजमूलक अनुसन्धानात्मक सामग्री अस्पतालकै जर्नलमा प्रकाशन गर्न अवसर पाउने बताए । 

प्रतिष्ठानले उपचार सेवासँगै विभिन्न शैक्षिक कार्यक्रम अघि बढाइरहेको बेला स्वास्थ्यसँग सम्बन्धित विषयमा भएका अनुसन्धानहरुमा आधारित शोधपत्रहरु प्रकाशन गर्नुले पनि प्रतिष्ठानको विकासमा कोशेढुङ्गा सावित हुने बताए । 

पहिलोपटक प्रकाशन भएको जर्नलमा विभिन्न चिकित्सकहरुको १५ वटा भन्दा बढी स्वास्थ्यसँग समेटिएका अनुसन्धानात्मक सामग्रीहरु प्रकाशन भएका छन् । 

जनरल प्राक्टिस एण्ड इमरजेन्सी विभागका प्रमुख प्राध्यापक डा. दिनेश लम्सालको नेतृत्वमा रहेको सम्पादकीय मण्डल रहेको छ भने जर्नलको सल्लाहकार कमिटीमा उपकुलपति लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन पन्थि लगायतका रहेका छन् । 

रजिष्ट्रार लम्सालले प्रतिष्ठान बिरामीको उपचार सेवामात्रै नभई शैक्षिक कार्यक्रमसँगै अध्ययन र अनुसन्धानको काम पनि जर्नल प्रकाशन भएसँगै शुरुआत भएको बताए । 

‘प्रतिष्ठान ठूलो शैक्षिक संस्था भएकाले पनि यसको आफ्नै जर्नल हुनु एकदमै महत्वपूर्ण कुरा हो, अब आफ्नै जर्नलमा अनुसन्धानमुलक स्वास्थ्य सामग्रीहरु प्रकाशन गर्न पाउनु दाङसहित यस क्षेत्रको लागि निकै ठूलो गौरवको कुरा हो–रजिष्ट्रार लम्सालले भने,'प्रतिष्ठानको आफ्नै जर्नलसँगै प्रतिष्ठानको सेवा सुविधा,योजनाबारे समेटिएको बुलेटिन पनि निकाल्न शुरु गर्दैछौँ ।’ 

उनले प्रतिष्ठानको जर्नलको शुरुआतबाट  यस्ता बौद्धिक तथा शैक्षिक कार्यक्रम र उपलब्धिले प्रतिष्ठानको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

त्यस्तै संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि शुभकामना सन्देश दिँदै प्रतिष्ठानले आफ्नै जर्नल प्रकाशन गरेकोमा खुसि ब्यक्त गर्दै प्रतिष्ठानमा अध्ययन र अनुसन्धानको काम अघि बढ्नुले सबैमा सकारात्मक सन्देश प्रवाह भएको बताए । 

स्वास्थ्य सचिव डा. रोशन पोखरेलद्वारा जारी शुभकामना सन्देशमा प्रतिष्ठानको आफ्नै जर्नल प्रकाशनले सबैलाई उत्साही गराएको उल्लेख छ । 

त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झाले  यस जर्नललाई प्रतिष्ठानको गौरब बढाएको बताउँदै प्रतिष्ठानमा कार्यरत चिकित्सकको आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्धि हुने आशा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ