arrow

रविका पालादेखि चलेको दैनिक दुई करोड उठाउने कोषहरीको सेटिङ तोड्लान् रमेश लेखकले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
koshraj-niralula-81-4-5.jpg

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक कोषहरी निरौला अहिले दैनिक करौडौँ रकम उठाउन व्यस्त रहेको आरोप छ । कोषराजकै संयोजनमा भिजिट भिसाका नाममा मध्यपूर्वका खाडी देशहरुमा जाने नेपालीहरुबाट दैनिक करौडौँ रकम उठाउने गिरोह अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सक्रिय रहेको पाइएको छ । 

महानिर्देशक निरौलालाई प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीले गिरोह चलाउन पूरै सहयोग गर्दै आएको उच्च स्रोत बताउँछ । महानिर्देशक निरौला र पन्थीले विभाग र अध्यागमन कार्यालयलाई नै मानव तस्करीमा प्रयोग गर्दै आएको स्रोतको जिकिर छ । 

२०८० चैतबाट विभागीय नेतृत्व गर्न पुगेका निरौला र पन्थीले नै संरक्षण गरेपछि अध्यागमन कार्यालयको काम कम्पनीले दिएको नामावली अनुसार भिजिट भिसामा जानेहरुलाई सहजीकरण गर्ने दलाली कार्यालयमा परिणत हुन पुगेको छ । 

यसका लागि निरौलाले करिब दर्जन अधिकृत र नायव सुब्बाहरुलाई मध्यपूर्व पठाउने विभिन्न कम्पनीका एजेन्टहरुसँग समन्वय गर्न खटाएका छन् ।

सरकारी कार्यालयमै बसेर उनीहरु सरकारको जिम्मेवारी पूरा गर्ने भन्दा पनि कम्पनीको एजेण्ट बनेर उनीहरुको स्वार्थ पूरा गर्न लागिरहेका छन् । 

निरौलाले खटाएका कर्मचारीहरुको काम कम्पनीले भिजिट भिसामा खटाएका व्यक्तिहरुको जानकारी लिने तिनलाई अध्यागमन पार गर्न सहयोग गर्ने र रकम बुझ्ने हुने गरेको छ। यसरी प्राप्त रकम विमानस्थलका कर्मचारी, गृह मन्त्रालयका कर्मचारी र विभागमा कर्मचारीमा दैनिक बाँडफाँट हुने गरेको छ । 

भिजिट भिसामा जाने एक व्यक्तिको रेट अहिले पुरुषका हकमा २० हजार र महिलाको हकमा ४० हजार रहेको स्रोतको दाबी छ । भिजिट भिसाका नाममा दैनिक सयौँ व्यक्ति अवैध रुपमा विदेश गइरहेको तथ्य सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, महानिर्देशक निरौला र प्रमुख अध्यागमन अधिकृत पन्थीले संयुक्त अनुगमन गरेका थिए । 

यो अनुगमनपछि मानव तस्करी भएको भन्दै अध्यागमनले करिब ५ सय नेपालीलाई भिजिट भिसामा जानबाट रोकेको थियो । उनीहरुलाई एयरपोर्टबाटै फर्काइएको थियो । 

त्यसबेलासम्म भिजिट भिसामा जानेहरुबाट निरौलाको सेटिङको गिरोहले पुरुषबाट १० हजार र महिलाबाट २० हजार रुपैयाँ लिँदै आएको थियो ।

मन्त्री लामिछाने समेतको निगरानी भएपछि मन्त्री र सचिवलाई समेत बुझाउनु पर्ने भन्दै निरौलाले भिजिट भिसामा जानेहरुको रेट बढाएका थिए । अहिले दैनिक ५ सय भन्दा बढी भिजिट भिसामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छोडिरहेका छन् 

। त्यसमध्ये आधाभन्दा बढी महिला हुने गरेको अध्यागमन स्रोत बताउँछ । सोझो हिसाब गर्दा पनि अहिले भिजिट भिसामा पठाउने कम्पनीहरुबाट दैनिक करिब २ करोड रुपैयाँ उठाइँदै आएको छ । 

संगठित रुपमा भइरहेको मानव तस्करीलाई खुल्ला रुपमा संरक्षण गरेर अनधिकृत रुपमा करौडौँ कुम्ल्याउने निरौलाको धन्दामा मन्त्रालयले पनि जानेर पनि नजानेको झैँ गरिरहेको छ । 

केपी ‌शर्मा ओली प्रधानमन्त्री भएर आएपछि आफूलाई झन् कसैले चलाउन नसक्ने भन्दै आएका निरौलाले अझ बढी खुलमखुला उठौती धन्दालाई निरन्तरता दिएका छन् । 

रवि लामिछानेको पालामा शुरु भएको यो सेटिङको अवैध धन्दालाई नवनियुक्त गृहमन्त्री रमेश लेखकले तोडलान् भन्ने अपेक्षा गृह मन्त्रालयका कर्मचारीहरुले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ