- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएका दुई वटा बस र ६२ यात्रुको खोजीका लागि १२ जनाको भारतीय टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।
रुपन्देहीको बेलहिया नाका हुँदै मध्यराति १२ बजे ४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो ।
त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडी सहित नेपाल आएको छ । टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन् ।
गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली मध्यराति १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो,सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो ।
उनीहरु राती भैरहवामा बास बसी विहानै चितवन तर्फ प्रस्थान गरेका छन । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडी सहितको टोलीलाई स्वागत गरिएको थियो ।
खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा।भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन् ।
राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ सहित १२ जना रहेका छन् । उनीहरुले उद्वारकका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।
सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन ।