arrow

चरम बेथिति बेहोर्दै भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
gautam-buddha-airport-parki.jpg

भैरहवा । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधारणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैयाँ प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनिबसले ८० र बस ट्रकले १२० रुपैयाँ तिर्नुपर्छ । यो दर लागू भएको केही महिना मात्रै हुँदा अत्यधिक भएको भनी सर्वत्र आलोचना भइरहेको छ । 

यसअघि २०८० जेठ १० गतेदेखि फागुन ३० गतेसम्म भने यहाँ पार्किङको शुल्क लाग्दैन थियो । पुरानो ठेक्का रद्द भई विमानस्थल कार्यालयले नयाँ ठेक्काको टेण्डर नभएकोले सर्वसाधरणले निःशुल्क पार्किङ गरिरहेका थिए । 

२०८० जेठ अगाडि भने मोटरसाइकलको पार्किङ शुल्क ५, कारको १०, मिनिबसको २० र बस–ट्रकको ४० रुपैयाँ लिने गरिन्थ्यो । 

केही महिनादेखि साप्ताहिक एउटा मात्रै उडान गरिरहेको विमानस्थलमा अहिले भने एक महिना यता कुनै उडान भएको छैन । आन्तरिक उडानमा सीमित भएको यो विमानस्थलको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्क र बहाल शुल्कमा भारी वृद्धि गरेको छ । जसको कारण सर्वसाधारण मर्कामा परेका छन् । 

विमानस्थल प्रशासनलाई समेत विगतको तुलनामा पार्किङ अप्रत्यासित वृद्धि भएको महसुस भए पनि यसबारे सुनुवाइ गर्न सकेको छैन । 
नियावाली २०८० अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरेर २ वटा वर्ग मात्रै छ ।

विमानस्थलको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय विमानस्थल कायम भएकाले सोको निर्देशिका अनुसार पाकिङसहित सबै शुल्कमा वृद्धि गर्न बाध्य भएको विमानस्थलका अधिकृत संजीव ज्ञवालीले बताए ।

उनका अनुसार विमानस्थल अन्तर्राष्ट्रिय भएसँगै विमानस्थलमा अन्तर्राष्ट्रिय उठान हुन नसके पनि पार्किङ, विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ ।

यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैयाँ शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैयाँ बनाइएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ ।

विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडासमेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।

“निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुँदा असजिलो भयो हामीले  केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौँ । ” अधिकृत ज्ञवालीले भने । उनले हालको ठेक्का अनुसार कम्पनी नियमित रुपमा नियमानुसार त्रैमासिक रुपमा भुक्तानी गरिरहेको बताए ।

उनका अनुसार विमानस्थल पार्किङका लागि भैरहवामा रहेको ईब्राहिम कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालीले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा ३ गुणा बढी हो । 

“विमानस्थलको स्तरोन्नति अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महँगो पर्न गयो यो हाम्रो बाध्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्युनतम रकम २४ लाख ८२ हजार रहेको छ । “तीन पटकसम्म ठेक्का निकाल्दा पनि कसैको निवेदन नपरेपछि महँगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनीले मात्रै टेण्डर दिएपछि  सम्झौता गरेर काम अघि बढेको छ ।  

विमानस्थलभित्र तोकिएको पार्किङ सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्कि¨ गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो ।

यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधानका लागि प्रतिघण्टा ६० रुपैयाँ, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरुले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठूला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महँगो हो ।

यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउँदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांग्रे सवारीका लागि रु ५ रुपैयाँ, कार,जीपका लागि १० रुपैयाँ, हल्का सवारी २० रुपैयाँ र ठूला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।

२०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पूर्णत निःशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुँदा ठेकेदार कम्पनीलाई  समेत केही समय निकै कठिन भएको ठेक्का कम्पनीका संचालक मुस्तफाले गुनासो गरे ।

उनले भने “हामीले तोकेको शुल्क होइन विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो ।”

ठेक्का नै महँगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुँदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने संचालक मुस्तफाले बताए ।

उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाइकल, स्कुटरले पार्किङ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ