arrow

‘पोखरा चौबिसै घण्टा खुला हुनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
pokhara-city.jpg
फाइल तस्बिर

पोखरा । पर्यटन व्यवसायीले पोखरा चौबिसै घण्टा खुला हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पर्यटनको राजधानी घोषणा गर्दै गर्दा पोखरालाई चौबिसै घण्टा खोल्ने घोषणा गरिएको भए पनि त्यो कार्यान्वयनमा आउन नसकेको गुनासो गरे ।

होटल प्रतिनिधि समाजको २५औँ साधारणसभामा पर्यटन सम्बद्ध व्यवसायीले पर्यटकलाई पोखरा सुरक्षित सहर हो भन्ने महसुस गराउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रम उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पोखरालाई चौबिसै घण्टा खोल्नका लागि व्यवसायी नै तयार नभएको जिकिर गरे । उनले माग गर्ने तर चौविसै घण्टा सञ्चालन गर्ने एउटा मापदण्डको फाराम भर्ने काम व्यवसायीले नगरेको आरोप लगाए ।

उनले पोखरा आउने पर्यटकलाई सुरक्षित महसुस गराउने काम होटल प्रतिनिधिको भएको बताए । उनले प्रतिनिधि समाजले विगतमा पनि राम्रा राम्रा काम गरेको र भविष्यमा पनि यस्तै काम हुने विश्वास व्यक्त गरे । फेवाताल बिनाको पोखरा अर्थहीन हुने भन्दै उनले तालको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोख्रेलले पर्यटकीय राजधानी पोखरालाई चौबिसै घण्टा खोल्न कुनै समस्या नभएको बताए । उनले पोखरा भित्रिने पर्यटकको यथार्थ तथ्यांक राख्नुपर्नेमा जोड दिए । यसका लागि व्यवसायी नै अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सबैले सहयोग गर्ने हो भने पोखरामा २० लाख पर्यटक भित्र्याउन कुनै कठिनाई नहुने स्पष्ट पारे । पर्यटनमार्फत नै पर्यटकीय राजधानी पोखरा समृद्ध बन्ने भन्दै उनले पोखरालाई चौबिसै घण्टा खोल्नुपर्नेमा जोड दिए ।

विशेषगरि पोखरा आउने राजमार्गका कारण पर्यटक अन्यत्रै जाने गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले राजमार्गहरु छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न दवाव दिइरहेको स्पष्ट पारे ।

उनले सबैभन्दा पहिला पोखरा-दिल्ली उडान सुचारु गर्नुपर्ने खाँचो औंल्याए । अरु केही नसकिए पनि नेपाल वायु सेवा निगमको जहाजले यसको थालनी गर्नुपर्नेमा उनले जोड दिए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले होटल प्रतिनिधिकै कारण पोखरा सुरक्षित सहर हो भन्ने महसुस पर्यटकले गर्न पाएको बताए ।

पोखरालाई चौबिसै घण्टा खुला गरेर राति १ बजे हवाईमार्ग हुँदै पोखरा भित्रिने पर्यटकले सुरक्षित महसुस गर्दै खान र बस्न पाउनुपर्नेमा जोड दिए ।

उनले पर्यटकको जिउधनको सुरक्षाका लागि समाजसँग होटल संघले सहकार्य गर्ने प्रतिवद्दता जनाए ।

नाटा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले पोखरा आउने पर्यटकको सेवा र सुविधामा ध्यान दिन सकिएमात्रै पोखरा पर्यटनको राजधानी भएको सिद्ध हुने बताए । उनले पर्यटनको राजधानी पोखरालाई परिस्कृत सहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिरहँदा लेकसाइडलाई चौबिसै घण्टा खोल्ने घोषणा भए पनि कार्यान्वयनमा आउन नसकेको बताए ।

उनले तुरुन्त कार्यविधि बनाएर लेकसाइलाई चौबिसै घण्टा खुल्ने वातावरण मिलाउन आग्रह गरे । साथै पोखरा-भारत सिधा हवाई उडान सुचारू गर्नुपर्नेमा उनले जोड दिए ।

टान पोखराका अध्यक्ष धर्मराज पन्थीले होटल प्रतिनिधि समाजको गतिविधि उत्कृष्ट रहेको भन्दै आगामी दिनमा सहकार्य गर्न सकिने बताए ।

नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटनको राजधानीलाई परिस्कृत सहरको रुपमा विकास गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष सन्तु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत, वरिष्ठ उपाध्यक्ष सन्तोष काफ्लेले धन्यवाद ज्ञापन र महासचिव माधव लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा समाजको गतिविधिमा सहयोग गर्ने केयर मार्क हस्पिटल, शुकबहादुर थापा, ओम प्रकाश पन्थी, अम्मरजंग गुरुङ (जितु), होटल संघ पोखरा, सन्तोष काफ्ले, मोतीराम पौडेल, पुरुषोत्तम न्यौपानले, जीवराज उपाध्याय र द ड्रिम्स ग्रुप पोखरालाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ