arrow

दुई लाख बढी पशुलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
cow-gai.jpg
फाइल तस्बिर

पोखरा । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रममा गत वर्ष दुई लाख बढी पशुलाई खोप लगाइएको छ ।

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लामा पाँच वटै पालिकाका ७२ वडाका ३५ हजार सात सय छ घरधुरीमा एकै साथ पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुकुर र भेडामा गरी दुई लाख एक हजार एक सय ७२ मात्रा खोप दिइएको हो ।

पूर्ण खोप कार्यक्रममा गाई, भैँसी र बङ्गुरमा खोरेतविरुद्धको ७१ हजार २५ मात्रा खोप दिइएको थियो ।

यसैगरी, एक हजार छ सय गाई, भैँसीमा एचएसविक्यू खोप लगाइएको थियो । यसैगरी, ७९ हजार सात सय ७५ बाख्रा र आठ हजार चार सय २५ भेडामा पिपिआर खोप दिइएको थियो ।

कार्यालयका अनुसार १० हजार ८८ कुकुरलाई रेबिज र छ हजार सात सय ३४ बङ्गुरलाई स्वाइनफिभरको खोप दिइएको थियो ।

गाई १६ हजार पाँच सय ५४ र भैँसी छ हजार नौ सय ७१ गरी २३ हजार पाँच सय २५ लाई लम्पिस्किनविरुद्धको खोप दिइएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।

स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारीले पालिकाका पशु सेवा शाखाका कर्मचारीको सहयोग लिएर सुरुआतमा कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन र त्यसपछि खोप लगाएका हुन् ।

“पशुमा पूर्ण खोप कार्यक्रम किसानले प्रत्यक्ष लाभ लिने कार्यक्रम हो, यो कार्यक्रम सिधै किसानकामा पुग्दछ र शत्प्रतिशत कार्यान्वयन समेत भएको छ”, कार्यालय प्रमुख पाण्डेले भने, “महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ