arrow

यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र इजरेलले खसाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
huti-aakraman.jpg

काठमाडौँ । इजरेली युद्धक विमानहरूले यमनमा धेरै हुथी लक्ष्यहरूमा आक्रमण गरेको केही घन्टापछि आइतबार बिहानै यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको इजरेली सेनाले बताएको छ । 

तेल अभिवमा घातक हुथी ड्रोन आक्रमणको जवाफमा इजरेलले हवाई आक्रमण गरेको थियो । इजरेलले हमासविरुद्धको आफ्नो नौ महिनाको युद्धका क्रममा बारम्बार हुथी आक्रमणहरूको जवाफ दिएको यो पहिलो पटक थियो ।

टाढाका शत्रुहरूबीचको हिंसाको विस्फोटले यस क्षेत्रमा इरानी प्रोक्सीहरूको शृङ्खलासँग लड्ने क्रममा इजरेलले नयाँ मोर्चा खोल्ने धम्की दिएको छ । 

इजरेली सेनाले शनिबार राति हुथीको गढ रहेको पश्चिमी यमनी बन्दरगाह सहर होदेइदाहमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ । सयौँ हुथी आक्रमणको जवाफमा अमेरिका–निर्मित एफ–१५ र एफ–३५ युद्धक विमानहरूमार्फत आक्रमण गरिएको सेनाले बताएको छ । 

इजरेलले अमेरिका, बेलायत र यस क्षेत्रमा अन्य पश्चिमी सहयोगीसँग मिलेर करिब सबै हुथी क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकेको छ । तर शुक्रबार बिहानै एउटा हुथी ड्रोन इजरेलको हवाई प्रतिरक्षामा प्रवेश गरेर इजरेलको व्यावसायिक तथा सांस्कृतिक राजधानी तेल अभिवमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको थियो । 

इजरेली सेनाले शनिबारको आक्रमण इजरेलबाट करिब एक हजार सात सय किलोमिटर आफ्नो हवाई सेनाले सबैभन्दा जटिल र सबैभन्दा लामो दूरीको कारवाहीमध्येको एक थियो भनेको छ । सेनाले यमनमा इरानी हतियार पुर्याउन प्रयोग गरिने बन्दरगाहमा आक्रमण गरेको बताएको छ । 

सानाको स्वास्थ्य मन्त्रालयले होदेइदाहमा भएको आक्रमणमा प्रारम्भिक सङ्ख्यामा ८० जना घाइते भएको र तीमध्ये अधिकांश गम्भीररूपमा जलेको बताएको छ । इजरेली आक्रमणबाट सहरको बन्दरगाहमा भीषण आगो लागेको थियो । 

“अहिले होदेइदाहमा लागिरहेको आगो पूरा मध्यपूर्वमा देखिएको छ र यसको महत्त्व स्पष्ट छ”, इजरेलका रक्षामन्त्री योभ ग्यालेन्टले भने । उहाँले आवश्यक परे कुनै पनि स्थानहरूमा यस्तै प्रकारका आक्रमण गरिने वाचा गर्नुभयो । 

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणलगत्तै गाजामा जारी इजरेली आक्रमणपछि हमाससँग ऐक्यबता जनाउँदै इजरेलमाथि आक्रमण गर्ने धेरै इरानी समर्थित समूहमध्ये हुथी पनि एक हो । 

हमाससँग लड्नेबाहेक इजरेली सेना लेबनानमा हिजबुल्लाह लडाकू समूहसँग दैनिक झडपमा संलग्न भएको छ । झडपहरूले लडाइँ लेबनान र त्योभन्दा बाहिर पूर्ण युद्धमा परिवर्तन हुनसक्ने चिन्ता बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ