arrow

सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन गर्न सुमनको संयोजकत्वमा समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
prithvi-subba-gurung-81-4-9.jpg

काठमाडौँ । सरकारले सौर्यको जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा बिहीबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् ।

साथै सरकारले आगामी दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उडड्यन प्राधिकरणले सोको अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।   

बुधबार बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषराज शाक्य बाँचेका छन् । मृतकहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । अस्पताल बाहिर मृतकका शोकाकुल आफन्त विक्षिप्त अवस्थामा पुगेका छन् । 

पोष्टमार्टम पूरा हुन तीन दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ । तबमात्र शवहरु आफन्तको जिम्मा लगाउने तयारी रहेको छ । 

सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । 

१९ जना सवार रहेको उक्त विमानमा घाइते अवस्थामा उद्धार भएका पाइलट मनिषराज शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

उनी खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ