arrow

वर्षायाम लागेपछि निदाउन छोडे मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
surendraraj.PNG

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताएका छन् । यस वर्षको मनसुन सुरु भएदेखि गण्डकी प्रदेशमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, “जब रातमा वर्षा हुन्छ अनि भोलि बिहान कुन जिल्लामा के घटना घट्छ भन्ने भयले मन त्रसित हुन्छ ।” उनले प्रदेशवासी नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सबै जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको बताए । 

भारी वर्षापछिको बाढीपहिराका कारण गण्डकी प्रदेशमा धेरै सङ्ख्यामा मानवीय क्षति हुनुका साथै पशुचौपाया, घरगोठ, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले उनीहरुको राहत र उद्धारका लागि सरकारले हरदम प्रयास गरेको बताए । उनले जिल्ला जिल्लाबाट राहत र उद्धारका सामग्रीका साथै बजेट माग भइरहेको भन्दै प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए । 

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सबै जिल्लाका विद्यालयमा नैतिक शिक्षाको पढाइ सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । पछिल्लो समय परिवार र समाजमा नैतिकता, संस्कार, रीतिरिवाजजस्ता प्रचलन हराउँदै गएको भन्दै उनले यसको जगेर्ना गर्नका लागि नैतिक शिक्षा अनिवार्य रुपमा पढाउनुपर्ने आवश्यकता देखिएको बताए ।

मुख्यमन्त्री पाण्डेले केन्द्रमा समीकरण फेरिएसँगै प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तारको प्रक्रिया सुरु भएको र केही दिनमा एमाले र कांग्रेसको सरकार बन्ने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ