arrow

संसदीय समितिमा क्यानका महानिर्देशकको राजीनामा माग, यस्तो छ प्रदीप अधिकारीको विवादित पृष्ठभूमि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
pradip-adhikari-CAN-general.jpg

काठमाडौं । एकपछि अर्को हवाई दुर्घटना हुन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि राजीनामाको माग उठेको छ । 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरभित्रै भएको सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएपछि उनले राजीनामा दिनुपर्ने माग उठेको हो । राजीनामा नदिए उनलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग उठेको हो । 

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले क्यानका पदाधिकारीलाई बोलाएर विमान दुर्घटनाबारे छलफल गरेको थियो । उक्त बैठकमा नेपाली कांग्रेसका सांसद उदयशशमेर राणाले उनीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् । बैठकमा सांसद राणाले अधिकारी नेतृत्वमा आएपछि भएका सातवटा दुर्घटनाको फेहरिस्त प्रस्तुत गरे । 

‘प्राधिकरणमा तपाईँकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन्। यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’ उनले भने, ‘अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफैँ राजीनामा दिनुपथ्र्यो कि सरकारले हटाउँथ्यो ।’

तर महानिर्देशक अधिकारीले भने घटनाको एकसरो विवरण प्रस्तुत गर्नुबाहेक अरु केही जवाफ दिएनन् । दुर्घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्ले नै संसदीय समिति बनाएको भन्दै उनले यसबारे थप बोल्नु उचित नहुने भन्दै पन्छिएका थिए । 

‘घटना घटिसकेको छ, सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै अनुसन्धानको दायरामा छौँ । आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन’ उनले भने । 

बैठकमा अधिकांश सांसदहरुले समेत क्यान नेतृत्वको क्षमता र कार्यशैलीबारे प्रश्न उठाएका थिए । कुनै पनि सांसदले उठाएका सवाललाई अधिकारीले जवाफ दिएनन् । 

बुधबारको दुर्घटनापछि समयमै उद्दारका लागि टोलीसमेत नपुगेको बताइएको छ । विमानस्थल परिसरभित्रको दुर्घटनामा २ मिनेटमै उद्दार कार्य सुरु हुनुपर्ने भए पनि यो दुर्घटनामा १३ मिनेटपछि मात्रै उद्दार थालिएको थियो । सोही कारण उपचारका लागि अस्पताल पुर्याइएको दुई जनाकोसमेत मृत्यु भएको थियो । 

महानिर्देशक हुनुअघि अधिकारी क्यानकै कर्मचारी थिए । राजनीतिक नेतृत्वसँग साँठगाँठ गरेर ‘मालदार’ अड्डामा बस्न माहिर उनी महानिर्देशक हुनुअघि पोखरा विमानस्थल तथा भैरहवा विमानस्थल आयोजना प्रमुख थिए । 

त्योबेला भैरहवा विमानस्थल निर्माण,जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारको करोडौँको अनियमितता गरेको आरोप अधिकारीमाथि छ । यसबारे अधिकारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतामा बयानसमेत लिइसकेको छ । यद्यपि अहिलेसम्म मुद्दा दर्ता भने भएको छैन । 

महानिर्देशक बन्दासमेत उनले राजनीतिक प्रभावका आधारमा सिनियरलाई पछि पारेका थिए । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेसँग साँटगाँठ गरेर ११ औं तहका कर्मचारी रहेका उनी १२ औँ तहका तीन जनालाई पछि पार्दै महानिर्देशक बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ