arrow

अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
apangata-gandaki.jpg

पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापालाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गतासम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा महत्वपूर्ण हुने बताए ।

“अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा आशावादी छु”, मन्त्री थापाले भने ।

उनले मस्यौदामा अपाङ्गता भएको व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई समेटेर मस्यौदा तयार पारिएको हुँदा प्रभावकारी हुने उल्लेख गरे । तयार पारिएको मस्यौदालाई थप परिमार्जित गरी अघि बढाइने मन्त्री थापाले स्पष्ट पारे ।

गण्डकी प्रदेशकी उपसभामुख बिना थापाले सबै अपाङ्गता व्यक्तिको अधिकार सुुनिश्चित हुने गरी मस्यौदा तयार भएको बताइन् ।

राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले स्थानीय तह र प्रदेश सरकारले अपाङ्गता भएको व्यक्तिको दायित्वलाई बोध गर्ने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।

उनले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकारका विषयलाई मस्यौदामा उल्लेख गरिएको बताए ।

स्वालम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसददेखि सरोकारवाला सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ