arrow

ताप्लेजुङ गोल्डकपमा आठ टिम सहभागी हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
Taplejung-hamrakura.jpeg

ताप्लेजुङ ।ताप्लेजुङमा आगामी भदौमा सञ्चालन हुने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकपमा त्रिभुवन आर्मी क्लबसहित आठ टिम सहभागी हुने भएका छन् । भदौ ३ गतेदेखि सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा ताप्लेजुङको प्रतिनिधित्व सङ्घर्ष स्पोर्टिङ क्लब उकालापानीले गर्नेछ ।
 
प्रतियोगितामा वाईवाई पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा यूथ स्पोटिङ क्लब मोरङ, सलहेस युथ क्लब सिराहा, बुटवल लुम्बिनी एफसी र भारतको सिलगढीबाट एक टिम सहभागी हुने छन् । भारत र झापाबाट एक एक टिम सहभागी हुने निश्चित भए पनि टिमको नामावली प्राप्त भई नसकेको आयोजक लाखे जात्रा खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताए ।
 
प्रतियोगिता सञ्चालनबारे जानकारी दिन आज सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार गत वर्ष सहभागी भएका कुनै पनि टिम यो वर्षको प्रतियोगितामा सहभागी हुने छैनन् । यस्तै यसवर्षको प्रतियोगितामा पुरस्कारको राशि बढाइएको छ । यसवर्षको विजेताले नगद रु पाँच लाख पाँच सय ५५ सहित कप, मेडल र प्रमाणपत्र पाउने छ भने उप बिजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद रु दुई लाख ५० हजार पाँच सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 
प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरिने र विजेता खेलाडीलाई नगद रु पाँच  हजार प्रदान गरिने छ भने विभिन्न आठ वटा विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ । जसअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार दिइने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही मेडल र प्रमाणपत्र सहित रु १०÷१० हजार प्रदान गरिनेछ ।
 
यो वर्ष पनि खेल अवलोकन गर्नेले क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा र फाइनलमा क्रमशः दुई सय र रु दुई सय ५० दरका टिकट लिनुपर्ने आयोजकले जनाएको छ । खेल सञ्चालनका खेल मैदान व्यवस्थापन सहितका आवश्यक तयारी भइरहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ