arrow

माओवादीभित्रको आन्तरिक द्वन्द्व चर्किदो, नेताहरू विभाजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
maoist-centre-81-4-16.jpg

काठमाडौँ । लामो समयदेखि माओवादी केन्द्रमा विवाद रहेको छ । सरकारमा हुँदा नै नेता र कार्यकर्ताको व्यवस्थापनलाई लिएर भएको विवादले बाहिर त्यति नआए पनि भित्रभित्रै असन्तुष्टि पोख्ने काम भैरहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको असली पार्टी बनाउने र आगामी निर्वाचनमा कोही कसैसँग पनि सहकार्य, गठबन्धन नगरी भाग लिने बताउँदै आएका छन् । 

तर निर्वाचन आउन तीन वर्ष बाँकी हुँदा नै गरिएको यस्ता निर्णयको कुनै औचित्य छैन । निर्वाचनको बेला आवश्यकता र औचित्यको आधारमा सहकार्य गर्न सकिने भन्दै कुनै दलसँग माओवादीको गठबन्धन हुने निश्चित रहेको माओवादीकै नेताहरुको दाबी छ ।

खासगरी माओवादीभित्र उपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरुले आफ्नो छुट्टै समूह निर्माण गरी अध्यक्षका निर्णयमा फरक मत राखिरहेका छन् । 

त्यसमा अर्का उपमहासचिव हरिबोल गजुरेल मिसिएका छन् । शर्माले खुला रुपमा आप्mना अभिव्यक्तिहरु नदिएको भए पनि गजुरेलले बुधबार पार्टी बैठकमै राजीनामाको घोषणा गरे । 

पाँच दिनसम्म चलेको बैठकमा लिखित रूपमा असहमति राख्दै उनले पार्टीका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका थिए । 

‘पदाधिकारीले सरकार राजदूतसहित अन्य नियुक्तिको विषयमा ठीक योजना र नीति बनाउन नसकेकाले सबैले राजीनामा दिनुपर्छ । अरू कसैले राजीनामा नदिए म एक्लै भएपछि दिन्छु, त्यो कुरा अध्यक्षबाट आउनुपर्यो,’ बैठकमा उपमहासचिव गजुरेलले लिखित पत्र बैठकमा वाचन गर्दै आफू पद त्याग्न तयार रहेको सुनाएका थिए । 

उनले राजीनामासमेत दिइसकेका छन् । माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले उपमहासचिव गजुरेलले राजीनामा नदिएको दाबी गरे । ‘उहाँले राजीनामा गरेको मलाई थाहा छैन’, उनले भने ।

माआवादीभित्र यतिबेला तीन वटा समूह रहेको छ । काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा सर्वोच्च अदालतबाट अग्निप्रसाद सापकोटाको प्रतिकुल फैसला आएमा त्यसको जिम्मेवार पार्टी अध्यक्ष नै हुनुपर्ने भन्दै सापकोटा परिवारले यतिबेला प्रचण्डलाई दबाबमा राखेको छ । 

यसैगरी शक्ति बस्नेतकी श्रीमती सत्य पहाडीले पनि फरक मत राखिरहेकी छिन् । सचेतक हितराज पाण्डे पनि प्रचण्डसँग असन्तुष्ट रहेका छन् । 

मातृका यादव, चक्रपाणी खनाल, रेखा शर्मा लगायतका नेताहरुले पनि नेतृत्वको विषयमा फरक धारणा राखेका कारण नेताको मात्र होइन आफन्तबाट पनि प्रचण्ड  घेराबन्दीमा परेका छन् ।

खासगरी गजुरेल र शर्माको असन्तुष्टि भने कार्यालयदेखि राष्ट्रिय सभा अध्यक्षसम्म प्रचण्डले आफन्तलाई प्राथमिकतामा राखेका कारण रहेको बुझिन्छ । 

राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाएका छन् । 

उनले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको भन्दै ढिला नगरी सच्याउन आग्रह गरेका थिए । 

मार्कसवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको गजुरेलको ठम्याइ थियो । यस्तै पार्टीको बैठकमा नेताहरूले औपचारिक रूपमा पेस गरेको राजनीतिक विषयवस्तुप्रति कसैको चासो र चिन्ता नभएको र त्यसमा छलफलसमेत नभएकोमा उनको असन्तुष्टि रहेको छ । 

आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको भन्दै उनले आपत्ति जनाएका छन् । 

पार्टी दिनानुदिन साँघुरिँदै गएकोमा अर्का उपमहासचिव शर्माले चिन्ता व्यक्त गर्दा प्रचण्डले जनताको माझमा गएर पार्टीलाई एक नम्बरको बनाउने बताएका थिए । तर शर्माले यही अवस्थामा पार्टी झन् रसातलमा पुग्ने बताएका थिए । 

यतिबेला पार्टीभित्र शर्मालाई हेर्ने दृष्टिकोणसमेत बदलिएको एक पदाधिकारीले बताएका छन् । पछिल्लो पटक वर्षमान पुनसँग नजिक रहेका प्रचण्डले शर्माको भनाईलाई बेवास्ता गर्न थालेका छन् ।

प्रचण्डकै विश्वासपात्र मानिएका अग्नि सापकोटाले पनि वर्गीय दृष्टिकोण बोध भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको बताएका थिए । 

बैठकमा शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाएर जनतामा र वर्ग समुदायमा जाने निष्कर्ष निकाल्नुपर्नेमा मूल नेतृत्वले बेलाबखत बाटो बिराएको आरोपसमेत लगाएका थिए । बैठकमा शुक्रबारदेखि अहिलेसम्म १८ जनाले आफ्ना धारणा राख्दा अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिएका थिए ।

पार्टीभित्र नेतृत्वको आलोचना हुन थालेपछि सुदन किराँती चाहिँ कम्मर कसेर बचाउ गर्न थालेका छन् । सत्ताबाट ओर्लनु परेपछि माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डमाथि प्रश्न उठ्न थालेपछि उनी बचाउमा लागेका हुन् । 

माओवादीभित्र बैठकै औपचारिक रूपमा मुद्दाले प्रवेश पाइसकेको र बाहिर पनि  सुषुप्त रूपमा नेताहरूले प्रश्न उठाउन थालेपछि किराँती खुलेर प्रचण्डको पक्षमा लागेका हुन् । 

सांसद सुदन किराँती प्रचण्ड निर्विकल्प नभए पनि विकल्प खोज्ने स्थिति नभएको बताउँदै बचाउमा लागेका हुन् । 

‘माओवादी धाराको मनोवैज्ञानिक रूपमा पनि उहाँ लिडर हो’, उनले भने, ‘शान्ति प्रक्रिया र अहिलेको व्यवस्थाको प्रमुख नेता हुनुहुन्छ । त्यसैले अहिले उहाँको विकल्प खोज्ने बेला भइसकेको छैन ।’
 
बरु पार्टीको दोस्रो तहका नेताहरूले भने विश्राम लिनुपर्ने बताए । पार्टीको वैचारिक पक्षमा उनीहरूले योगदान दिनुपर्ने उनको भनाइ छ । 

उनले पार्टीका युवा नेताहरूलाई जनताको घरदैलोमा पठाउने, जनताका काममा खटाउनु पर्ने र पार्टी संगठनलाई थप मजबुत पार्नुपर्नेमा जोड दिएर प्रचण्डलाई सहजीकरण गरिरहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ