arrow

पर्यटन प्रवर्द्धन गर्न ‘डुलुवा’ टोली भारत प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
duluwa-india.jpg

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्न ‘डुलुवा’ टोली भारत प्रस्थान गरेको छ । ‘डुलुवा’ एक महिने भारत भ्रमणमा निस्किएको हो ।

टोलीमा १९ जना सदस्य छन् । भ्रमण अगस्ट १ देखि २५ सम्म पोखरा आएर सकिने छ । टोलीले भारतका विभिन्न सहरमा पुगेर स्थानीय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्तक्रिया गर्नेछ ।

नेपालको कास्कीकोटदेखि भारत कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिइएको छ । टोलीको यात्रा भारतको रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडीचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै पुनः पोखरामै आएर समापन हुनेछ ।

टोली संयोजक योगश भट्टराईले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीयलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य रहेको संयोजक भट्टराईले बताए ।

टोलीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले बिदाई गरे ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमणले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि भदेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख पोखरेलले पर्यटनको ठूलो बजार भारतमा गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिने बताए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले ‘डुलुवा’ टोलीको भ्रमणले पोखरामा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन मद्दत पुग्ने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले डुल्नु, घुम्नुको मज्जा र महत्व छुट्टै रहेको बताए । उनले भ्रमणबाट केही न केही नयाँ कुरा सिकिने बताए ।

नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’ लाई युवा लक्षित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ ले नेपालका ७० जिल्ला र विदेशमा भारतको लद्दाखसम्मको यात्रा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ