arrow

लोकतन्त्र, मानवअधिकार र कानूनी शासन एकअर्काका परिपूरक : भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
dilli-raj-bhatta-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानवअधिकार र कानूनी शासन एकअर्काका परिपूरक रहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुसी व्यक्त गरे ।

‘मानवअधिकार सबैका लागि हो तर विशेषरुपले आवाजविहीन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ। अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ,’ भट्टले भने, ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’

उनले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताए ।

राष्ट्रिय मानव अधिकार आयोग जस्ता संवैधानिक आयोगको सिफारिस कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् गर्न नहुने उनको भनाइ छ ।

आयोगको कार्यालय पोखराका प्रमुख नीतु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गरेकी हुन् ।

टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो ।

टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल, सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नासु मुकेश घिमिरेलगायत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ