arrow

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण, दिदीले भाईलाई गरिन् ‘दान’

नियमावली बनेको हप्ता दिनमै प्रत्यारोपण हुनु मुलुककै गौरव : मन्त्री थापा

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
kalejo-news.jpeg

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ । ३ वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आएको केन्द्रले पहिलो पल्ट कलेजो प्रत्यारोपण गरेको हो । बुधबार केन्द्रले भक्तपुर निवासी ३६ वर्षीय बलराम नागाको कलेजो प्रत्यारोपण गर्‍याे । विहिबार केन्द्रमा आयोजित पत्रकार सम्मलेमा प्रत्यारोपणबारे आधिकारिक जानकारी गराइयो ।

यसोसँगै नेपालमा कलेजो प्रत्यारोपण सेवा सुभारम्भ भएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । श्रेष्ठका अनुसार बलरामलाई ४१ वर्षीया दिदी सानुमाया लागेजुले कलेजो दान गरेकी हुन् ।

दुवै दिदी भाईको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको बताइएको छ । पत्रकार सम्मेलनमा डा. श्रेष्ठले भने, ‘भूकम्पले क्षति भएपछि डिप्रेसनमा आउँदा बलरामको अत्यधिक रक्सी सेवनले कलेजो विग्रेको थियो । उहाँको परिवारको सहयोग समर्थनमा हामी यो काम गर्न सफल भयौं ।’

डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सफल सुरुआत भएको ठोकुवा गर्दै छिट्टै नेपालकै जनशक्तिले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने उद्घोष समेत गरे । तत्कालिन अवस्थामा नेपालकै जनशक्तिले सेवा दिन नसके पनि छ्टिटै जनशक्ति तयार पारिने श्रेष्ठको भनाई छ । श्रेष्ठले भने, ‘यो सानो सुरुआत मात्रै हो ।’

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री गगन थापाले नियमावली छिट्टै पारित गरेर अंग प्रत्यारोपणका लागि बाटो खुला भएको बताए । नियमावली बनेको हप्ता दिनमै कलेजो प्रत्यारोपण हुनु मुलुककै गौरव भएको बताउँदै खुसी प्रकट गरे । मन्त्री थापाले भने, ‘नियमावली नहुँदा धेरै विरामी मुलुक बाहिर उपचार गराउन जान बाध्य थिए, अब हामीले उपचार खर्च पनि घटाउँछौँ ।’ स्वास्थ्यमन्त्री थापाले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको समेत बताए ।

मन्त्री थापाले दक्षिण कोरियाको विशेषज्ञ टोलीबाट कलेजो प्रत्यारोपण सफल भएको बताउँदै नेपालमै केही महिनाभित्रै कलेजो प्रत्यारोपण गर्न सक्ने गरी यहाँका चिकित्सकलाई तयार गर्न स्वदेश तथा विदेशमा तालिम दिनुपर्ने भए पठाउन सरकार तयार छ–भने ।

सरकारले एक साता अघि मात्रै अंगप्रत्यारोपण नियमित तथा निषेध नियमावली–२०७३ पास गरेको थियो । नियमावली पास भएपछि नेपालमा कलेजो प्रत्यारोपणको बाटो खुलेको हो । २०७२ मंसिर १६ गते मन्त्रिपरिषद् बैठकले नियमावली पास गरेको एक हप्ता भित्रै कलेजो प्रत्यारोपण गरिएको हो ।

यसभन्दाअघि नेपालमा प्रत्यारोपण सम्बन्धी स्पष्ट कानुन नभएकाले कलेजो प्रत्यारोपण हुन सकेको थिएन । शल्यक्रियाका लागि दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विश्व प्रसिद्ध विशेषज्ञहरूसहित १५ जनाको  टोली संलग्न रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कलेजो प्रत्यारोपणका लागि कोरियन टोलीको नेतृत्व डा.जाई वन जो र चोन ह्युक डेभिड कनले गरेका थिए । त्यस्तै डा. ग्यु सियोङ चोय, चान वु चो, डा. जस्टइन साङवुक पनि टोलीमा रहेको डा. श्रेष्ठले बताए ।

यस्तै, नेपाली चिकित्सकहरू डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा डा.मोहनदेव भण्डारी, डा. प्रविण जोशी, डा. सम्पूर्णमान तुलाधर प्रत्यारोपणमा सहभागि भए । त्यस्तै,  एनेस्थेसिया र सघन उपचारमा डा. सुवास आचार्य, डा. आरती राई, डा. महालक्ष्मी देउजा, डा. किरण अधिकारी, डा. सन्दिप भण्डारी र डा. मिलन थापा रहेको जानकारी गराइयो ।

प्रत्यारोपणमा पेट तथा कलेजो विशेषज्ञहरू डा. गुरुवाचार्य र डा. निरज जोशीसमेत रहेका थिए । यसैगरी नर्सिङ टोलीको नेतृत्व डा. इन्दिरा प्रधानले गरिन् भने प्रत्यारोपणमा कलेजो विशेषज्ञहरु डा.दिलीप शर्मा, डा सुधांसु केसी, डा. अनन्त श्रेष्ठ तथा डा. विनिता जोशी सक्रिय भए । ब्रेनडेथ’ भएर मृत्यु भएका व्यक्तिको ७ वटा अंग दान गर्न मिल्ने र ब्रेनडेथ भएर मृत्यु भएको अवस्थामा परिवारसँग समन्वय गरेर अंग लिन सकिने चिकित्सकहरुले बताएका छन् ।
 

उपचार खर्च कति ?
पहिलो प्रत्यारोपण भएकाले बलरामको परिवारले औषधि शुल्कबाहेक उपचार खर्च तिर्नु परेन । यद्यपि, कलेजो प्रत्यारोपण गर्न १५ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

छिमेकी मुलुक भारतमा भने कलेजो प्रत्यारोपण गर्दा करिब एक करोड खर्च हुन्छ, चिकित्सकहरुले भने, ‘अहिले नेपालमा वर्षको एक हजारको हाराहारीमा कलेजो फेल हुने गरेको तथ्याङक छ ।’ कलेजोले काम गर्न छाड्नुको मुख्य कारण मद्यपान चिकित्सकहरुको भनाई छ । कलेजोमा बोसो जम्ने, हेपटाइटिस ‘सी’को कारणले पनि कलेजो ‘फेल’ हुने चिकित्सकहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ