arrow

मन्त्रालयको संख्या बढाउन त्यति सजिलो छैन : अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
khagraj-adhikari-gandaki-uml.jpg

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशले प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’ को शनिबार विमोचन गर्दै नेता अधिकारीले मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिल्न बाँकी रहेको स्पष्ट पारे । एमालेले मन्त्रालयको संख्या सातबाट बढाउन नहुने अडानमा कायम रहेको उनले बताए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको संख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको भन्दै उनले मुख्यमन्त्रीले भने झैँ मन्त्रालयको संख्या बढाउन त्यति सजिलो भने नरहेको स्पष्ट पारे ।

नेता अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उनको दावी छ ।

एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पुरा गर्नका लागि सबैले मिहेनत गर्नुपर्ने उनले स्पष्ट पारे ।

‘सरकारले राम्रो काम गर्नुपर्‍यो, भष्ट्राचार रोक्नुपर्‍यो, हाम्रा मन्त्री विवादित हुनुभएन’ अधिकारीले भने ।

दुई ठूला प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्नेमा नेता अधिकारीले जोड दिए ।

ओली नेतृत्वमा सरकार बनेपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उनले आरोप लगाए । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पुर्‍याउनका लागि नेता तथा कार्यकर्तालाई खट्न उनको आग्रह थियो ।

‘०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रियसभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवाद तर्फ यात्रामा जान सक्छौँ’ उनले भने ।

कार्यक्रममा प्रादेशिक ‘समृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकता’ सम्बन्धमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकान्त खतिवडाले प्रस्तुति राखेका थिए ।

नेपाल बुद्धिजीवी परिषद् अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनका लागि विदेश जानेको संख्या बढेको दावी गरे । देशको विकासमा विभिन्न चुनौती रहेकोले ती चुनौतीलाई चिर्दै अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिए ।

बुद्धिजीवी परिषद् गण्डकी अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजराज दाहालले स्वागत, सचिव बाबुराम केसीले सञ्चालन गरेका थिए । गण्डकी दर्पणको समीक्षा राधाकृष्ण लामिछानेले गरेका थिए ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी र एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ