arrow

बीमा रकम ठग्ने लोभमा आफ्नै सपिङ सेन्टरमा आगो लगाउने दुई सञ्चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
pawan-sujan.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा सञ्चालक आफैँले आगो लगाएको कास्की प्रहरीले जनाएको छ । यही साउन १६ गते राति उक्त पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको थियो ।

अनुसन्धान गर्नेक्रममा बीमा रकम ठगी गर्ने उद्देश्यले सञ्चालक आफैँले आगो लगाएको पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । पक्राउ पर्नेमा पोखरा-१८ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र विरौटाका ४३ वर्षीय पवन नेपाल छन् ।

बीमा रकम ठगी गर्ने उद्देश्यले नै उनीहरु आफैँले पसलमा आगो लगाएको विभिन्न प्रमाणले पुष्टि गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुले पवित्रा अधिकारीको नाममा पसल सञ्चालन गर्दै आएका थिए ।

दुवै सञ्चालकले सल्लाह गरेर नै राति पसलमा आफैँले सलाई कोरेर आगो लगाएको बयानका क्रममा स्वीकार गरेको डीएसपी शर्माले जानकारी दिए ।

साथै सञ्चालकले सुरुमा पसलको बीमा नभएको बयान दिएका थिए । तर हिमालयन एभरेष्ट इन्स्योरेन्सको पोखरा शाखामा २ करोड १० लाख बराबरको बीमा गरेको पाइएको प्रहरीले जनाएकाे छ । पसलमा आगलागी भएको भोलिपल्टै सञ्चालक बीमा रकम दावीका लागि निवेदन दिइएको पाइएको डीएसपी शर्माले बताए ।

प्रहरीका अनुसार शुरुमा सञ्चालकले इन्भर्टरको तार सर्ट भएर आगो लागेको बताए पनि इन्भर्टर कम्पनीका प्रतिनिधिले इन्भर्टरबाट आगलागी नहुने र विद्युत प्राधिकरणले सो पसलको विद्युतमा कुनै कैफियत नभएको जानकारी गराएपछि उनीहरुको बद्मासी स्पष्ट भएको थियो ।

मुक्तिनाथ सपिङ सेन्टर खासै नचलेको र सामान धेरै मात्रामा स्टक भएको र घरधनीसँग भाडालगायतका विषयमा विवाद पनि रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैविरुद्ध आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ