- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । युसेप नेपाल सानोठिमी भक्तपुरको आयोजना र द आर्ट अफ लिभिङको पूर्ण सहयोगमा बालसुधार गृह भक्तपुरका बालकहरुलाई एडभान्स मेडिटेशन कार्यक्रम गरेको छ ।
चार दिनसम्म चलेको उक्त आवासीय मौन शिविरमा ४८ जना सहभागी रहेका थिए । उक्त शिविरमा प्रशिक्षक रितिका लोहिया, काब्य लम्साललगायत दि आर्ट अफ लिभिङका अन्य प्रशिक्षकहरुले सहजीकरण गरेका थिए ।
मुख्य प्रशिक्षक रितिकाका अनुसार गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापित द आर्ट अफ लिभिङको उद्देश्य हिंसा मुक्त समाज, रोग मुक्त शरीर र तनाव मुक्त मन रहेको छ।
१८० भन्दा बढी राष्ट्रहरूमा यो अभियान सञ्चालन भइरहेको छ। यस्ता योग ध्यान शिविरले युवा, महिला र बालबालिकाहरुमा सकारात्मक सोच विकास गरेर, विगतको घटनाको पश्चात्तापबाट निस्किदै, मन खाली हुने र यस्ता कार्यक्रमले उनीहरुमा उत्साह, उमंग, खुशीका साथ आउँदा दिनमा समाजमा फर्केर सामान्य तरिकाले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने बताइन्छ ।
कार्यक्रम सकिएपछि सुधार गृह भक्तपुरका एक बालकले आफ्नो अनुभव सुनाउने क्रममा भने, 'म मानसिक रुपमा एकदमै तनावमा बस्थेँ । केही गर्ने जोश जाँगर हुँदैनथ्यो । र म के गरुँ कसो गरुँ भन्ने अवस्थामा पुगेको थिएँ । मर्ने सोचसमेत बनाएको थिएँ । तर अहिले यो शिविर गरिसकेपछि ममा नयाँ उत्साह, उमंग, आनन्द भएको महसुस गरेको छु । सकारात्मक उर्जा यो चार दिनले म मा निकै भरेको छ ।'
यसैगरी अर्का सहभागी भन्छन्, 'यो शिविरले मेरो जीवनमा परिवर्तन भएको छ। म सबैभन्दा भाग्यमानी आफुलाई ठानेको छु। गुरुदेव श्री श्री रविशंकर गुरुसंग जोडिन पाएकोमा खुसी, महसुस भएको छ ।'
अर्का एक सहभागीले धेरै कुरा सिक्न पाएको भन्दै जीवनलाई अब सकारात्मक ढंगले अगाडि बढाउने र समाजमा गएर सेवा गर्ने बताए ।
समापन कार्यक्रमकी प्रमुख अतिथि युसेप नेपाल सानोठिमी भक्तपुरकी उपनिर्देशक शोभा भण्डारीले यो कार्यक्रमबाट सहभागीमा आएको परिवर्तन देखेर निकै खुशी व्यक्त गरिन् ।
उनले यो ध्यान गर्ने अभ्यास निरन्तर गर्न सकेमा मात्र यसको वास्तविक उद्देश्य पूरा हुने बताइन् । आफू र आफ्नो साथीको जीवन सुन्दर बनाउन मन छ भने निरन्तर साधनामा लाग्नु पर्ने कुरामा जोड दिँदै उनले यो चार दिनसम्म अनवरत रुपमा दिनको १२–१४ घण्टा खटेर कार्यक्रम सफल बनाउन सहयोग गर्ने दि आर्ट अफ लिभिङको टिमलाई धन्यवाद दिइन् ।
आगामी दिनमा यस्ता कार्यक्रम अरु बालबालिकालाई पनि दिन सके सकारात्मक परिवर्तन आउनेमा आफू विश्वस्त रहेको भण्डारीले बताइन् ।
देशभरका ९ वटा बालसुधार गृहमध्ये ४ वटामा लामो समयदेखि युसेप नेपालले नै व्यवस्थापन गर्दै आइरहेको छ । भक्तपुरमा २५२ बालबालिका रहेकामा ३९ जना बालिका हुन् ।