arrow

कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा विस्तारमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
yatayat-office-kabhare.jpg
फाइल तस्बिर

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा विस्तार रोकिएको छ ।

गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक फाँटमा कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा विस्तारमा समस्या देखिएको हो ।

बागमती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यालयमा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) नखटाउँदा प्राविधिक काम सुरु गर्न नसकिएको सूचना अधिकारी पवन बजगाँईले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयबाट प्राविधिक कर्मचारी खटाउन नसकेका कारण सवारी दर्ता, नामसारी, प्रदूषण परीक्षण, भाडाको सवारीको जाँचपास, सवारी सर्वसहमति सरुवा सहमति र लिलामी दर्ताको काम सुरु गर्न नसकिएको हो । कार्यालयमा सेवा बिस्तार नहुँदा काठमाडौ उपत्यकाका यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटेको छैन ।

कार्यालयबाट तत्कालका लागि सवारी साधनको ब्लू-बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम मात्र भइरहेको सूचना अधिकारी बजगाईंले बताए ।

मन्त्रालयबाट कार्यालयमा पाँचौ तथा छैटौँ तहसहितका आवश्यक प्राविधिक कर्मचारी नखट्दा सेवा बिस्तार गर्न नसकेको हो ।

कार्यालयले हालसम्म चालक अनुमति पत्र (लाइसेन्स) नवीकरणसमेत अघि बढाउन नसकेको जनाएको छ । कार्यालयले लाइसेन्स नवीकरणको काम भने भदौको पहिलो सातादेखि सुरु गर्ने योजना बनाएको छ । स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको जनाइयो ।

यस्तै कार्यालयले असोज महिनादेखि ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ वर्गको सवारी चालक अनुमति-पत्र प्रदान गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ ।

गत असार १६ गतेबाट औपचारिक सेवा सुरु गरेको कार्यालयले एक महिनाको अवधिमा कार्यालयबाट तीन हजार २१ सवारी साधनको ब्लू-बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम भएको कार्यालयले जनाएको छ ।

यस्तै कार्यालयले एक महिनाको अवधिमा रु दुई करोड १८ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमा ‘रुट परिमिट’का लागि दैनिक औषत पाँच सवारी, ब्लू-बुक नवीकरण तथा सवारी कर बुझाउन दैनिक सरदर एक सय र दैनिक राजस्व करिब रु १५ लाखको हाराहारिमा सङ्कलन हुने गरेको जनाइएको छ ।

उक्त कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, तथा भक्तपुरका केही क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नेछन् । बनेपामा कार्यालय स्थापनापछि मध्यपहाडी क्षेत्रका सेवाग्राहीलाई सहज बन्दै गएको हो ।

बागमती प्रदेश सरकारले साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ ।

नयाँ सवारी चालक अनुमतिपत्र लागि कार्यालयले ट्रायल सेन्टर सञ्चालनका लागि नीजि क्षेत्रसँग समन्वय गर्न प्रक्रिया बढाइएको जनाइयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ