arrow

दिनभर बाँकेमा स्वास्थ्यमन्त्री 

अस्पताल पुग्ने बिरामी लाइन बस्ने अवस्था हटाउन सरकार लागेको छ – स्वास्थ्य मन्त्री पौडेल

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ साउन २५ शुक्रबार
pradip-poudel-81-4-25a.jpg

बाँके  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालको इन्डोर भवन र एमआरआई सेवाको उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच मन्त्री पौडेलले अस्पतालको इन्डोर भवन र एमआरआई सेवाको उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अस्पतालहरुमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको बताए । 

मन्त्री पौडेलले सरकारी अस्पतालहरुमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउनुपर्ने बताए । उपलब्ध उपकरणहरुको सही प्रयोगमा पनि ध्यान दिन आवश्यक रहेको मन्त्री पौडेलको भनाई छ ।

भेरीमा भएको बेडको सूचना पनि अनलाइनमै राखे अझ राम्रो हुने भन्दै उनले सोचेको भन्दा राम्रो सेवा भेरीले दिइरहेको भएपनि अझै धेरै सुधार्न आवश्यक रहेको औंल्याए । मन्त्री पौडेलले न्यूनतम जनशक्ति र उपकरणको उपलब्धतालाई उचित ब्यवस्थापन गरेर भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए ।

त्यसक्रममा मन्त्री पौडेलले अस्पतालको निरीक्षण पनि गरेका छन् । यस्तै अस्पतालले आजैदेखि अनलाइन टिकट काट्न सक्ने व्यवस्थाको समेत शुरूवात गरेको छ । मन्त्री पौडेलको उपस्थितिको अवसर पारेर स्वास्थ्य परीक्षणका लागि अब घरमै बसेर पर्चा (टिकट) काट्न सक्ने व्यवस्थाको शुरूवात गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सरकारी अस्पतालप्रति जनताको विश्वास बढेको बताए । भेरी अस्पताललाई स्तरवृद्धि र व्यवस्थित बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालको सेवा प्रवाह, समस्या र मन्त्रालयसंग अस्पतालका अपेक्षा लगायतका विषयमा जानकारी गराएका थिए । अस्पताल विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, आशा विक र दीपा शर्मा, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिति थियो । 

नेपालगञ्जमा कार्यकर्ता भेटघाट
पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको बताए । 

उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरु गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरु घोषणा गरिने समेत बताए । आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि मन्त्री पौडेलले सुनाए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उनले स्वास्थ्यमा नेपाली नागरिकको सहज पहुँच स्थापित गर्ने कार्ययोजनाका साथ सरकार लाग्ने बताए । सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरुमा विरामीको लाइन हटाउने विषयमा आफू सुक्ष्म अध्ययनमा रहेको मन्त्री पौडेलको भनाई छ । अर्को फरक प्रसंगमा उनले कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने गरी सुदृढ र बलियो बनाउने काममा सबै लाग्नुपर्नेमा जोड दिए ।

पार्टी सभापति गौडेलले गरीब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेले सक्षम हुने विश्वास ब्यक्त गरे । भेरी अस्पतालको स्तरबृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति ब्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उनले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण समेत गराए । गौडेलले नेपाली जनताले कांग्रेसलाई क्रेडिट दिने गरी स्वास्थ्य क्षेत्रमा नयाँ काम हुने विश्वास समेत ब्यक्त गरे । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ भएको छ । मन्त्री पौडेलले आज बीमा कार्यक्रमको शुभारम्भ गरे । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ १ गतेदेखि सुरु हुनेछ ।

कोहलपुर नगरपालिकाको आयोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई बधाई, स्वागत तथा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले कोहलपुर नगरपालिकाले आफैंले थालेको स्वास्थ्य बीमा कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गर्न आवश्यक रहेको बताए । 

‘नगरबासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन कोहलपुर नगरपालिकाले सुरु गरेको बीमा कार्यक्रम अन्य पालिकाहरुमा सायदै लागू भएको होला, 'उनले भने–‘स्वास्थ्य क्षेत्रमा कोहलपुर नगरपालिकाले प्रशंसनीय काम गरेको छ । अन्य पालिकाहरुले पनि बीमा कार्यक्रम लागू गर्न आवश्यक छ ।’ 

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्ने गरी सरकार लागिपरेको उल्लेख गरे । उनले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै सरकारले आवश्यकताका आधारमा क्रमशः त्यसलाई पूरा गर्ने गरी लागिपरेको पनि बताए ।

कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बीमा कार्यक्रम लागू गरिएको बताए । उनले त्यसक्रममा स्वास्थ्यका विभिन्न ६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र पनि मन्त्री पौडेललाई बुझाए । 

नगर उप्रमुख संगिता सुवेदीबाट स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ