arrow

पेरिस ओलम्पिकमा नेपाल

एकानब्बे देशले पदक जित्दा नेपाली खेलाडी पहिलो चरणमै आउट, सन्तोषी ७९ औँ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
santoshi-shrestha-paris-olympic-24-8-11.jpg

पेरिस । नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक – २०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९ औँ स्थानमा रहिन् । 

विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरे । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् ।

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । सन्तोषीको ब्यक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो । 

सन्तोषीले उक्त कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन (दक्षिण एसियाली स्तरीय) मा बनाएकी थिइन् । बंगबन्धु म्याराथन सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय म्याराथन हो । 

त्यो म्याराथनमा सन्तोषीले स्वर्ण जितेकी थिइन् । शुरुमा ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने सन्तोषी हाफ म्याराथन हुँदै फुल म्याराथना दौड्न थालेकी हुन् । 

पेरिस ओलम्पिकको म्याराथन सन्तोषीको दोश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । ३१ वर्षीया सन्तोषी नेपालमै सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को १० हजार मिटर दौडकी स्वर्ण विजता हुन् । 

उक्त प्रतियोगिता सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । सन्तोषीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् ।

सन्तोषीपछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन् । किन्जाङलाई दौड पूरा गर्न ३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो ।
    
नेडरल्यान्डकी सिफान हसनले ओलम्पिक रेकर्डसहित स्वर्ण जितिन् । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा सिफानले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दूरी तय गर्दै इथियोपियाकी टिकी गेलानाको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सकेन्डको ओलम्पिक रेकर्ड तोडिन् । 

इथोपियाकी टिग्स्ट असेफा दोश्रो तथा केन्याकी हेलेन ओबिरी तेश्रो  बने । म्याराथन पेरिसको होटल डे भिलेबाट शुरु भइ विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो ।

सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झण्डासहित समर्थकसंग खुशी साट्दै थिइन् । त्यही क्रममा दौड पूरा गरेपछि सन्तोषी सिफान भएको ठाउँमा गइन् र अंकमाल गर्दै सिफानलाई बधाइ पनि दिइन् ।

ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि सहभागिता जनाएको हो । ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्ने सन्तोषी समग्रमा चौथो नेपाली खेलाडी हुन् । 

पछिल्लोपटक विमला राना मगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई खेलाडी राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए । आइतबारै स्थानीय समय अनुसार राती ९ः०० बजेदेखि शुरु हुने समापन समारोहमा सन्तोषीले राष्ट्रिय झण्डा बोक्ने छिन् ।

सन्तोषीले राष्ट्रिय कीर्तिमान सुधार गर्न नसकेपनि कठिन रुटका बावजुद म्याराथन पूरा गर्न सकेकोमा सन्तुष्त रहेको प्रतिक्रिया दिइन् ।

ओलम्पिकका लागि पेरिसमा रहने सन्तोषी एक्लो नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी रहे । बाँकी छ खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै फर्किसकेका छन् ।

टेबलटेनिसमा श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल, पौडीमा एलेक्जेन्डर शाह र डुवाना लामा तथा जुडोमा मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गरेका थिए । यीमध्ये एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे । त्यसबाहेक कसैले पनि आफ्नो व्यक्तिगत प्रदर्शनसमेत सुधार गर्न सकेनन् । 

पेरिस ओलम्पिकमा श्यान्टु र जुडोमा मनीताले छनोट चरण पार गर्दै सहभागी भएका हुन् । बाँकीले विभिन्न कोटा मार्फत ओलम्पिक सहभागिता पक्का गरेका थिए । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएको हो । 

९१ देशले पदक जित्दा नेपाली खेलाडी भने दोस्रो चरणमासमेत पुग्न सकेनन् ।
    
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि पहिलोपटक सहभागिता जनाउन थालेको थियो । त्यसयता १९६८ को मेक्सिको सिटी ओलम्पिक बाहेक सबै ओलम्पिकमा नेपालले सहभागिता जनाउँदै आएको छ ।


 

santoshi-shrestha-24-8-11 (7).JPG
santoshi-shrestha-24-8-11 (1).JPG
santoshi-shrestha-24-8-11 (2).JPG
santoshi-shrestha-24-8-11 (3).JPG
santoshi-shrestha-24-8-11 (5).JPG
santoshi-shrestha-24-8-11 (6).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ