arrow

पार्टीलाई विधि र विधानअनुसार चलाउन कांग्रेस नेता राजभण्डारीको सुझाव, विदेश विभाग बनाउन जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
divyamani-rajbhandari5.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद दिव्यमणी राजभण्डारीले पार्टीलाई विधि र विधानअनुसार चलाउन सुझाव दिएका छन् । पार्टी विधि र विधानअनुसार नचले त्यसको असर सरकारदेखि सदनसम्म पनि पर्ने भन्दै कांग्रेसका पाका नेता राजभण्डारीले पार्टी सही दिशामा हिँड्नु पर्ने बताएका हुन् । 

सो क्रममा उनले पार्टीका पुराना नेताहरुका अनुभवलाई समेटेर लैजान सक्नुपर्नेसमेत बताएका छन् । पार्टी मुख्यालय बीपीनगर सानेपामा पार्टीको केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा नेता राजभण्डारीले पुरानो र नयाँ पुस्ता मिलेर अगाडि बढ्न सकेमात्र कांग्रेस निश्चित विन्दूमा पुग्न सक्ने बताए । 

हाम्राकुरासँगको कुराकानीमा अनुभवी नेता राजभण्डारीले पुरानाले नयाँलाई देखिनसहने र नयाँले पुरानालाई थन्क्याएर राख्नुपर्छ भन्ने मानसिकता बोक्ने हो भने नेपाली राजनीतिको गौरब बोकेर नेतृत्वदायी भूमिका लिएर हिँडेको पार्टीको अस्तित्व संकटमा पर्ने भन्दै सचेत गराए । 

उनले भने, ‘पार्टीलाई सही गन्तव्यमा हिँड्न सुझाव दिएको हो । केन्द्रीय समिति सदस्यहरुले पढ्ने, बुझ्ने र हेर्ने आवश्यकता रहेको छ ।’

यसो भनिरहँदा नेता राजभण्डारीले आफू कुनै पनि नेता विशेषसँग पूर्वाग्रही नभएको तर अनुभव नभएका नेताहरु पनि जान्ने भएर हिँडेको नसुहाउने बताए । उनले भने, ‘आफूलाई सबै कुराको जानकारी नहुन सक्छ । जान्ने छु भनेर हिँड्नु भन्दा सिक्दा हुन्छ नि । सिक्दा कोही सानो हुँदैन ।’

नेतादेखि मन्त्रीसम्मले थाहा नभएको विषय सिक्नुपर्ने भन्दै नेता राजभण्डारीले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए । 

उनले अहिलेसम्म ३८ विभाग बनाउँदा विदेश विभाग नै नबनाएको भन्दै नेतृत्वको आलोचना गरे । उनले जुन विभाग सबैभन्दा चलायमान हुनुपर्ने हो त्यही विभाग वर्षौँसम्म निष्क्रिय भएर बस्नु दुर्भाग्यपूर्ण भएकोसमेत बताए । 

उनले भने, ‘कांग्रेसले दशौँ वर्षदेखि विदेश विभाग बनाएको छैन । अहिले नै बनाइहालोस् भन्ने चाहना हो । अन्य विभागहरु बन्दा कांग्रेसको विदेश नीति के हुँदैछ भन्नेमा अन्योल छ । केन्द्रीय कार्यसमिति चलिरहँदा यो विषयले पनि प्राथमिकता पाउनु पर्छ ।’   

उनले पार्टीलाई विफल बनाउने अधिकार कसैलाई नभएको भन्दै अगाडि भने, ‘पार्टीले सुदृढीकरण जान्यो र विधि विधान अनुसार चल्यो भने सफल भयो नत्र भएन भने देशलाई नै क्षति हुन्छ ।’

नेता राजभण्डारीले तोकिएका कार्यक्रमहरु उचित समयमै हुनुपर्नेमा जोड दिए । उनले पार्टीको विधानले कहिले के कार्यक्रम गर्ने भनेर तय गरिसकेकाले सोहीअनुसार चल्न सक्नुपर्ने बताए । 

पुरानालाई थन्क्याएर नयाँ हावी हुँदा गलत कदम चालिन सक्ने भन्दै अगाडि भने, ‘भोलिका दिनमा बंगलादेशको जस्तो अवस्था नेपालको हुने भयो र बुढापुराना नेताहरु घरमा ढोका लगाएर बस्दिए भने के हुन्छ ?’

विधि र सुशासनमा नचलेकैले बंगलादेशले अहिलेको समस्या भोगेको भन्दै नेता र दलले यसलाई गम्भीरपूर्वक लिएर सुधार नगर्ने हो भने भोलिका दिनमा नेपालमा पनि यही अवस्था आउन सक्नेतर्फ सबै दलको नेतृत्वलाई सचेतसमेत गराए । 

नेतृत्वको भूमिका र मन्त्रीहरुको भूमिकाप्रति उनी चिन्तित रहेका छन् । उनले पार्टीबाट मन्त्री भएकाहरुले सुझाव दिन खोज्दा फोनसमेत नउठाउँदा चित्त दुखाए । 

उनले भने, ‘यो अपमान हो कि भोलि केही भयो भने भनेर टाढा हुन खोजेको हो ? सबै मन्त्रीलाई सबै विषयको ज्ञान नहुन सक्छ । अनुभवका आधारमा सुझाव दिन भनेर फोन गरेँ । मन्त्रीको त फोन उठेन नै यहाँ त पीएलेसमेत उठाएनन् । अनि जनताका कामको सम्बोधन कसरी हुन्छ ?’ 

उनले सिंगो पार्टी ह्मिले नभइ विधि र विधानसंगत तरिकाले चल्नुपर्नेमा जोड दिए ।

राजदूत नियुक्तिको प्रक्रियामासमेत नेता राजभण्डारीले असन्तुष्टि जनाएका छन् । राजदूतको निर्देशिका विपरीत अहिलेका नियुक्तिहरु भइरहेको भन्दै उनले यसले अन्ततः देशलाई नै हानि गर्ने बताए । 

निरन्तर सरकारसँग जोडिएको व्यक्ति यदि सेवा निवृत्त हुने बेलामा राजदूत भएर जान्छ भने त्यहाँ ‘कन्फ्लिक्ट अफ इन्टरेष्ट’ पैदा हुने पनि राजभण्डारीले बताए । 

यो पनि भ्रष्टाचारको रुप भएको उनले स्पष्ट पारे । उनले आफू सत्तामा छु भन्दैमा जसलाई पायो उसैलाई राजदूत बनाउनु गलत भएको बताए । सबै जना विधि र विधानअनुसार चल्नुपर्नेमा उनको जोड छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेकामात्रैलाई भ्रष्टाचार भन्न नमिल्ने भन्दै उनले जनताका भनाइलाई पनि सम्बोधन गर्नुपर्ने बताए । 

नेता राजभण्डारीले बंगलादेशमा भएको घटनाले आपसी व्यापारमा असर पर्न सक्ने बताए । उनले भने, ‘हामीले ठूलो फड्को मार्दै थियौँ । बंगलादेशमा बिजुली बेच्दै थियौँ । कतै त्यसलाई पनि असर पर्छ कि ।’

उनले मेडिकलमा नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्ने भएकाले त्यसमा पनि असर गर्ने बताए । 

नेता राजभण्डारीले नेपालमा पर्यटक भित्र्याउन पहल गर्नुपर्नेमा जोड दिँदै बंगलादेशमा आउने पर्यटक नेपालमा ल्याउन सक्नुपर्ने बताए । 

उनले भने, ‘बंगलादेशमा धेरै नै पर्यटक जान्छन् तिनीहरुलाई नेपालमा पनि ल्याउनका लागि पहल गर्नुपर्नेछ । यसका लागि दूतावास चनाखो हुनुपर्छ ।’

उनले नेपाल, भारत, बंगलादेश र भुटानबीच रोड कनेक्टिभिटी हुन सक्नेतर्फ सोच्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ