- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशमा डेंगी सङ्क्रमण बढ्दै गएको छ । शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेंगीको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए ।
सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको यही साउन १० गते निधन भएको उनले बताए ।
तनहुँपछि कास्की डेंगीबाट बढी प्रभावित छ । निर्देशनालयको तथ्याङ्कअनुसार कास्कीमा चार सय ८० जना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गु सङ्क्रमित भेटिएका थिए ।
यस्तै, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी शर्माले बताए ।
असार यता डेंगी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अङ्ग्रेजी जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै चार सय ७४ जनामा डेंगीको सङ्क्रम पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गत जनवरीमा ७० जनामा डेंगीको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको सङ्ख्या थपिँदै आएको हो ।
गत वर्ष कास्कीमा मात्र तीन हजार ६९ जनामा डेंगी सङ्क्रमण भएको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ जना थिए ।
सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहले डेंगी रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरू गरेका छन् ।
पोखरा महानगरपालिकाभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य संस्था र निकायले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन सबैलाई आग्रहसमेत गरेका छन् ।
महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेंगीको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको । डेंगीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्न आग्रह गरिएको छ ।
डेंगीको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।