arrow

बोली भन्दा काममा जोड

भदौ महिनाभर मन्त्रीहरूलाई मौनव्रत लिन गगन थापाको आग्रह

‘तपाईंहरूले एक महिना नबोल्नुस् भदौभर, भदौभरि हामी बोल्छौं, यति मजाले बोल्छौँ, तपाईंहरू एउटा काम गरिदिनुस् त्यसलाई पाँच गुणा प्रचार गर्ने जिम्मा हाम्रो’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
gagan-thapa-81-4-29-bb.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ महिनाभर मन्त्रीहरूलाई मौनव्रत लिन आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले एमाले र कांग्रेस मिलेर बनेको सरकारले एक महिना पूरा गरेको भन्दै अब मन्त्रीहरूले खादा लगाएर हिँड्ने नभइ काम गर्नुपर्ने बताएका हुन् । 

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकाल दुई वर्षको भएको र मन्त्रीहरूले २४ मध्ये एक महिना खादा लगाउँदा सकिएको बताउँदै अब भने कामको आधारमा प्रशंसा र आलोचना गर्ने बताए । 

उनले प्रत्येक मन्त्रीले २४ महिनामा आफूले के गर्छु भनेर कार्यक्रम बनाएकै हुनुपर्नेमा जोड दिए । जनताले थाहा पाउने गरी तुरुन्तै प्राप्त गर्न सकिने काम पनि गर्न पूर्व स्वास्थ्य मन्त्री थापाले सुझावसमेत दिएका छन् । 

उनले प्रत्येक मन्त्रालयसँग जोडिएका साना साना कामहरू गरेर देखाउन आग्रह गरे । मन्त्रीहरूको इच्छाशक्ति र नियत राखे काम सजिलै गर्न सकिने उनले बताए । 

एउटा मन्त्रालयले मात्र नसके दुई वा तीन मन्त्रीहरू ४८ घण्टा सँगसँगै बस्ने हो भने जस्तोसुकै अप्ठेरो काम पनि गर्न सकिने उनले बताए । 

उनले भदौ महिनामा मौनव्रत बसेर काम गर्न सुझाउँदै भने, ‘साउन राम्रो महिना पनि सकियो, तीर्थव्रत पनि सकिन लाग्यो । भदौ लाग्न लाग्यो । भदौ १ महिना हाम्रा माननीय मन्त्रीज्यूहरूले व्रत लिइदिनुस् । के व्रत भने नबोल्ने व्रत । उद्घाटन नगर्ने व्रत ।’

उनले थप अगाडि भने, ‘बिहान समाचार पढे पनि म यस्तो गर्दिन्छु भन्या छ, म यो ठोक्दिन्छु भन्या छ, खोइ ? अरे बाबा गर्ने ठाउँ भएपछि त गर्ने हो नि । हामी अहिले बोल्ने ठाउँमा छौँ हामी बोल्ने हो । हेर्नुस् त बोल्ने ठाउँका साथीहरू बोल्न पाउँ बोल्न पाउँ भनिराख्नुभाछ । अस्ति गर्ने ठाउँमा गएको गरेको देखेकै हो । बोल्ने बेलामा बोल्ने गर्ने बेलामा गर्ने । माननीय मन्त्रीज्यूहरू गर्ने ठाउँमा हुनुहुन्छ । मजाले गर्ने ।’

उनले मन्त्रीले एउटा काम गरे आफूहरूले पाँच गुणा प्रचार गरिदिने पनि वाचा गरे । महामन्त्री थापाले भने, ‘प्रत्येक दिन मन्त्रीज्यूहरूको भाषण सुनिराख्या छ कि हामी देश विकास गर्न आएको हो हामी चमत्कार गर्छौँ । अरे बाबा गर्दिनुस् न । तपाईंहरूले एक महिना नबोल्नुस् भदौभर । भदौभरि हामी बोल्छौँ । यति मजाले बोल्छौँ । तपाईहरू एउटा काम गरिदिनुस् त्यसलाई पाँच गुणा प्रचार गर्ने जिम्मा हाम्रो ।’

कांग्रेस र एमालेका सांसदहरूको टेबुल ठोकाइले गर्जन पनि ठूलै आउने बताउँदै उनले भने, ‘हेर्नुस् त कति छौँ हामी कांग्रेस एमाले । धमाधम तपाईंहरूले काम गर्ने हामीले यहाँ बोल्ने टेबुल ठोक्ने । तपाईंहरू बाहिर बोल्दै नबोल्ने । मन्त्री यहाँ आउने हाम्रा कुरा सुन्ने ठपक्क मन्त्रालय जाने काम गर्ने परिणाम दिने ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गर्दिन भनेर भाषण गरिरहन आवश्यक नभएको बताएका छन् । उनले भने, ‘कहीँ कतै मन्त्रीको अन्तर्वार्ता पढ्न नपरोस् । कहीँ कतै भाषण सुन्न नपरोस् । र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि म ठाउँ ठाउँमा गएर भ्रष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भन्ने होइन । त्यो प्रधानमन्त्री भनिराख्नै पर्दैन । प्रधानमन्त्रीले गर्नै पाउँदैन त्यसैले भन्नै भएन । तर गर्ने कुरा के हो भने अहिले संसदमा कानून छ । त्यो कानूनमा मद्धत गर्ने, प्रकरणहरूमा सही रुपमा निरुपण गर्ने, यो काम सम्माननीय प्रधानमन्त्रीज्यूबाट होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ