काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्न संविधान संशोधनको प्रस्ताव ल्याइएको बताएका छन् । नेपाल जेसिसको ४३औँ राष्ट्रिय अधिवेशनको टोखास्थित भूतखेलमा उद्घाटन गर्दै उनले हिमाल, पहाड र मधेस तथा सबै जातिलाई मिलाएर एकताबद्ध गर्नका लागि संशोधनको प्रस्ताव ल्याइएको स्पष्ट पारे ।
पहाडी र मधेसीका बीचमा वैमनस्यता सिर्जना गरेर पहाड र मधेसलाई अलग गर्न खोजिएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले नेपालीका बीचमा सङ्कट पैदा गर्ने राष्ट्रवादी हुन्छ कि मिलाउने राष्ट्रवादी हुन्छ भने ।
उनले भने–“राष्ट्रियताको नाममा मधेसी र पहाडीबीचमा झगडा गराउन हुँँदैन । मधेसमा बस्ने नेपालीलाई अविश्वास गर्न हुँदैन । मधेसी नेपाली हुन्, उनीहरु सधैँ नेपाली भएर बाँच्न चाहन्छन् । कसैलाई अविश्वास र आक्षेप लगाएर मुलुक चल्दैन ।”
नेकपा एमालेले छिनछिनमा कुरा बदल्न नहुने बताउँदै उनले काँग्रेसका पूर्व सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको सम्झौताका आधारमा संविधान संशोधन प्रस्ताव ल्याइएको स्पष्ट पारे ।
उनले संविधान संशोधन प्रस्तावमा कुनै बाह्य दबाब नरहेको स्पष्ट पारे । नेपाली कसैको दबाबमा पनि नपर्ने बताउँदै सभापति देउवाले स्वतन्त्रको आन्दोलनमा सबैभन्दा बढी लडेको पार्टीले कसैको दबाबमा नपर्ने धारणा राखे ।
उनले विगतको स्मरण गराउँदै भने – “२००७ सालमा राणाशासन अन्त्य गर्ने पार्टी हो, पञ्चायत फ्याँक्ने पार्टी हो, पूर्वराजा ज्ञानेन्द्रको शासन सत्ता च्यूत गर्ने पार्टी नेपाली काँग्रेस हो, यो कसैको दबाबमा पर्दैन ।”
सम्पूर्ण नेपालीलाई मिलाउने दायित्व काँग्रेसको भएको बताउँदै सभापति देउवाले यो मुलुक हिमाल, पहाड र मधेसमा बस्ने सबै नेपालीको देश भएको बताए ।
मधेसमा बस्ने जनताले सिमानामा बसेर राष्ट्रियता जोगाएको बताउँदै उहाँले उनीहरुको भावना सम्बोधन गर्न संविधान संशोधन गर्नुपरेको धारणा राखे ।
“सुस्तामा निरन्तर लड्ने नेपाली हुन्, विदेशी होइनन्, सबै तराईका बासिन्दा नेपाली हुन्, उनीहरुको भावनालाई सम्बोधन गनुपर्छ”– सभापति देउवाले भने – “के सिमानामा भएका अन्याय अत्याचारमा लड्ने मधेसीहरु अराष्ट्रिय तत्व हुन्, के उनीहरु विदेशी हुन् ?, यो हुन सक्दैन ।”
उनले संविधान संशोधनको पक्षमा नेकपा एमालेले मत हाल्ने विश्वास व्यक्तसमेत गरे । सभापति देउवाले नेपाली काँग्रेसको सिद्धान्त र जेसिसको सिद्धान्त मिल्ने भएकाले यस संस्थासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताए ।
सो अवसरमा नेकापा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको प्रस्तावसँगै मुलुक गम्भीर सङ्कटमा परेको भन्दै उहाँले सामाजिक सद्भावको रक्षाका लागि सबै युवा सक्रिय भएर अगाडि आउनुपर्ने बताए ।
स्वतन्त्र, सार्वभौम र भूपरिवेष्टित मुलुकका नागरिकका रुपमा स्वाभिमानीपूर्वक बाँच्न पाउनुपर्ने धारणा राख्दै उनले ऐतिहासिक सङ्कटबाट मुलुकलाई जोगाउनुपर्ने बताए । चार दिनसम्म चल्ने महाधिवेशनमा नेपालभरिका १३८ शाखाबाट तीन हजार युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस