arrow

‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्नु नपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
BP Koirala cancer hospital.jpg
फाइल तस्बिर

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता पालो कुर्नुपर्दथ्यो ।

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा नीतु शर्माका अनुसार विभागमा रिक्त दुई जना रेडियोलोजिष्ट थप गरेर अतिरिक्त समयमा सेवा दिन थालेपछि पालो कुर्नुपर्ने बाध्यता हटेको हो । उनले भनिन्, “नयाँ व्यवस्थापन आएपछि पाँच वर्षदेखि रिक्त दुई जनाको दरबन्दी पूरा भएको छ ।”

यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० बजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताए । विभागमा सात जना रेडियोलोजिष्टको दरबन्दी छ ।

यसअघि पाँच जना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । अस्पतालमा एमआरआई दुई दिनमा पालो आउने गरेका छ ।

विभागीय प्रमुख डा शर्माका अनुसार पहिले एमआरआई सेवा लिन दुई सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो । भिडियो एक्सरेमा पालो कुर्नु पर्दैन । यो सेवा लिन पहिले दुई दिनको पालो कुर्नुपथ्र्यो । भिडियो एक्सरे सेवामा पहिला एक जना रेडियोलोजिष्टले मात्र काम गर्दै आएकामा अहिले दुई जनाले हेर्ने गरिएको छ ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालमा बिग्रिएर बसेको पुरानो सिटीस्क्यान मेसिन मर्मत गरिँदैछ । अहिले एउटा सिटीस्क्यान सञ्चालनमा छ ।

अस्पतालले खरिद गरेको नयाँ एक सय २८ स्लाइसको सिटीस्क्यान सञ्चालनमा छ । चीन सरकारले दिएको पुरानो ६४ स्लाइसको सिटीस्क्यान बिग्रिएको छ । यसको मर्मतका लागि ट्युब भन्सारमा आइपुगेकाले यसै साता मर्मतसम्भार हुने उनको भनाइ छ ।

पुरानो सिटीस्क्यान मर्मत गरिएपछि भित्री अङ्गको बायोप्सी निकाल्ने काम सिटीस्क्यानबाट गरिने उनले बताए । यसलाई ‘इन्टरभेन्सन रेडियोलोजी’ भनिन्छ । हाल अल्ट्रासाउण्डबाट बायोप्सी निकाल्ने काम गरिएको छ ।

अस्पतालमा नयाँ मेमोग्राम मेसिन भित्रिएको छ । स्तन क्यान्सर पहिचान गर्ने यो मेसिन विगतमा भए पनि बिग्रिएपछि अहिले नयाँ भित्र्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयमार्फत यो उपकरण अस्पतालमा आइपुगेको छ । सेप्टेम्बरको १ तारिख इटलीबाट सप्लायर्सका प्राविधिक आएर उपकरण जडान गर्नेछन् । उनले भने, “स्तन क्यान्सर पहिचानका लागि यो उपकरण अत्यावश्यक छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, क्यान्सर अस्पताल र उपकरण उपलब्ध गराउने कम्पनीबीच सम्झौता भइसकेको उनले बताए । आधुनिक प्रविधिका उपकरण भएकाले यो निकै उपयोगी हुनेछ ।

चार वर्षदेखि अस्पतालमा यो उपकरण नहुँदा बिरामी निजी अस्पतालमा जान बाध्य थिए । अस्पतालमा दैनिक २०–२५ जना बिरामी मेमोग्रामका लागि आउने गर्छन् । यो उपकरण स्वास्थ्य मन्त्रालयले खरिद गरेर क्यान्सर अस्पताललाई दिएको निर्देशक डा पौडेलले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ