- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यस बारेमा सरकार गम्भीर नभएको उनले बताए ।
‘मधेसको विद्यालयमा विद्यार्थीको चाप बढी छ । तर विद्यार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विद्यार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउन सरकारको हामीले पटक पटक ध्यानाकर्षण गरायौँ तर सरकार गम्भीर छैन’ आजपा अध्यक्ष साहले भने,‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन । हामी चुप लागेर बस्दैनौँ । सरकारले यथासिघ्र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रन्छौं ।’
हिजोको विरासत मधेसको राम्रो भएको र अरुलाई शिक्षा दिने मधेस आज किन पछाडि पर्यो भन्ने प्रश्न गर्दै साहले मधेस मानव विकास सूचांकमा पछाडि पार्ने काम सिंहदरबारमा बसेर लुटमचाउनेले गरेको आरोप लगाए । मधेसवादी दलका नेताहरु लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हड्तालको विकल्प नभएको बताए ।
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बराबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन ।
मधेसको शिक्षाप्रति चिन्तित रहेका साहले विगतदेखी नै मधेसको विकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आएका छन् । राज्यको कुदृष्टिले मधेस कुरुप बनेको र मधेसवादी दलका भ्रष्ट चरित्रका कारण मधेस बदनाम भएको बताउँदै मधेसको विकास, समृद्धिका लागि यहीका युवाहरु अग्रमोर्चामा आउनुपर्ने बताए ।
शिक्षकको व्यवस्था गर, विद्यार्थीलाई गुणस्तरीय शिक्षा देउ भन्ने सुझाव दिदा समेत सरकारले नसुन्ने र मनपरी गर्ने कामले आम जनता दुःखी भएको बताउँदै उनले सरकारलाई सडकबाटै जवाफ दिनुपर्ने समय आइसकेको बताए ।
मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुरकी मेयर रिनाकुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएकी थिइन् । सिंहदरबारमै पुगेर मेयर साहले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदासमेत अहिलेसम्म मन्त्रालयले केही नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा हेमप्रसाद साह बताए ।
आजपाको स्थानीय नेता सैतूलाहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्वसांसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थायी कमिटी सदस्यहरु लालबाबु मंसूरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।