काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू देश र जनताका लागि लडिरहनु पर्ने भएकाले राजनेता भएर बस्न नसक्ने बताएका छन् । अनेरास्ववियुले आइतबार ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा अध्यक्ष ओलीले भने “देशमा स्वाभीमान र थिचोमिचोका विरुद्ध विभिन्न क्रियाकलाप भइरहन्छ । यस्तो बेला चुप लागेर म राजनेता भएर बस्न सक्दिन । त्यसैले राजनेता हुने मलाई मन छैन ।”
अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै आवश्यक परे सङ्घर्ष गर्न पनि तयार रहेको धारणा राखे। पूर्वप्रधानमन्त्री ओलीले पुर्खाले बनाएको देशलाई आफ्नो पालामा कसैले पनि बिर्गान नसोच्न आग्रह गरे। “अहिलेसम्म पुर्खाले देशलाई जोगाएका छन्”– उनले भने, “यो संसद् हामीले बनाएको हुनाले देशलाई तलमाथि हुन दिदैँनौँ ।”
सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताउदै ओलीले भने 'निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको छ' । ओलीले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका लागि गर्न सकिने धारणा राखे । “कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔँ”–उनले भने, “तर देशलाई आँच आउने खालको कुरालाई संशोधन गर्न सकिन्न ।”
ओलीले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिए । उनले संविधानमा महिला अधिकार कुरा उल्लेख गरिएपनि महिलालाई सशक्तीकरण, नेतृत्वदायी र उत्तरदायी भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा राखे ।