arrow

समाजवादी मोर्चाको भविष्य अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
samajbadi-morcha-81-4-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि पुनर्जीवित भएको समाजवादी मोर्चाको भविष्य अलपत्र परेको छ । 

पछिल्लो पटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा र डा. बाबुराम भट्टराईबाट फुटेर आएको महिन्द्र यादव समूह मिलेर पुनर्जीवित गराइएको मोर्चा पनि अलपत्र परेको छ ।

मोर्चाले आफ्ना गतिविधि गर्न सकेको छैन । यतिसम्म कि चार दल आफैँले पारित गरेको मोर्चाको कार्यविधि अनुसारका कार्यक्रमसमेत कार्यान्वयनमा आउन सकेका छैनन् । 

नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरे पनि त्यसका लागि प्रभावकारी योजनाहरू बन्न ढिलाइ भएको नेताहरूको भनाइ छ ।

‘हामीले अहिले कुनै पनि कार्यक्रम तय गरेका छैनौँ, नेताहरु छलफलमै हुनुहुन्छ’, मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रमका महासचिव देव गुरुङले भने ।

माओवादीमा देखिएको आन्तरिक विवादले पनि मोर्चालाई अघि बढाउन समस्या भैरहेको नेताहरुको दाबी छ । 

सरकारबाट बाहिर आएपछि माओवादी आन्तरिक बैठकमा जुटेको र त्यहाँ नेतृत्वमाथि प्रश्न उठेपछि मोर्चामा शिथिलता आएको नेकपा एसका एक नेताले भने ।

‘माओवादी आन्तरिक द्वन्द्वमा फसेको छ, मोर्चातिर ध्यान छैन, अहिलेसम्म दस्तावेज तयार हुन सकेको छैन’, नेकपा एसका निवर्तमान प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको उनीहरूको भनाइ छ ।

मोर्चा पुनर्जीवित गरिएपछि १५ दिन समय पाएको मोर्चाको कार्यदलले एक महिना बित्दासमेत दस्ताबेज तयार पार्न सकेको छैन । 

दस्ताबेज निर्माणको काम जारी रहेको कार्यदल सदस्य एवं माओवादी महासचिव गुरुङको भनाइ छ । दस्ताबेजमाथि छलफल गर्न आइतबार बस्ने भनिएको कार्यदल बैठक पनि स्थगित भएको छ । 

कार्यदल संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको हो । बैठक माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको थियो । तर बस्न नसकी स्थगित भएको थियो ।

कार्यदलले तयार पार्ने दस्ताबेजका आधारमा मोर्चाले भावी कार्यक्रम तयार गर्ने तयारी गरिएको छ । 

मोर्चालाई प्रभावकारी बनाउँदै पार्टी एकतासम्म जाने रणनीति रहेको नेताहरूले दाबी गरेका छन् । 

४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चार दलीय मोर्चा घोषणा गरिएको थियो । 

तर हाल जसपा नेपाल समाजवादी मोर्चाबाट अलग्गिएको छ भने नेसपा भित्रिएको छ । विगतको समीक्षा र आगामी कार्यक्रम तय गर्न विश्वकर्माको संयोजकत्वमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपाबाट गंगानारायण श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

समाजवादी मोर्चाका नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीसँग केन्द्रीयस्तरको अन्तक्र्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय अलपत्र परेको छ । 

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । 

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् । 

तत्कालीन समयमा संयुक्त सरकारमा रहेको कांग्रेसलाई तर्साउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भएको थियो । 

प्रचण्ड सरकारमा रहँदासम्म निस्कृय रहेको मोर्चा प्रचण्ड सरकारबाट बाहिर आएपछि पुनः सक्रिय बनाइएको थियो । 

मोर्चाको एक घटक जसपा नेपालले भने समाजवादी मोर्चाको औचित्य समाप्त भएको जनाउँदै बाहिरिएको थियो । 

पार्टी मोर्चा र सरकारमा सहभागी भएको अवस्थामा पार्टी विभाजन गराएको भन्दै जसपा नेपाल प्रचण्डप्रति रुष्ट छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ