arrow

कहिले पद जान्छ भनी नसोचेर काम गरौंः मन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
pradip-poudel-81-5-6v.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहले कहिले पद जान्छ भन्ने नसोचेर काम गर्न आग्रह गरेका छन् । 

संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्तर्गत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटकमा बोल्ने क्रममा मन्त्री पौडेलले आ–आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्थामा ऐन आएर पनि कार्यान्वयन जान नसकेको समितिलाई गतिशिल बनाउन प्रयास गरेको बताए । 

उनले बजेट र कार्यक्रम बनाउँदा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न तयार रहेको भन्दै काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरुसँग आग्रह गरे । 

‘हामी सबैभन्दा बढी प्रस्ताव क्याबिनेटमा लैजाने मन्त्रालयका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विकास गर्न चाहन्छौँ, उनले भने, सहकार्यका सकेसम्म धेरै प्रस्ताव ल्याउन प्रदेश तथा स्थानीय तहसँग आग्रह गर्छु ।’

मन्त्री पौडेलले जिम्मेवारीमा नरहेका चिकित्सकलाई काममा लगाउन नसक्नु कमजोरी रहेको भन्दै संघको रकममा योगदान गरेर इन्सेन्टिभ दिएर भए पनि हरेक अस्पतालमा चिकित्सक रहने वातावरण मिलाउन सहकार्यको प्रस्ताव गरे ।

‘लाखौं खर्च गरेका चिकित्सकले न्यून तलबका कारण सेवा तोकिएको ठाउँमा नगएको पाइएको छ’, उनले भने, ‘यस्तोमा प्रदेश र स्थानीय तहबाट पनि योगदान गरेर चिकित्सक गाउँमा बस्ने वातावरण मिलाऔं ।’

चिकित्सक सरुवाका लागि दबाब नदिन आग्रह
मन्त्री पौडेलले आफू आएयता लोक सेवा आयोगबाट दरबन्दी तोकिएका सबै चिकित्सक आफ्नो ठाउँमा गएको र यो पहिलो रेकर्ड भएको बताए । उनले आफ्नै मानिसबाट चिकित्सक सरुवाका लागि अनुरोध आउने भन्दै प्रदेशका मन्त्रीहरुलाई भने, ‘हामीले तोकिएको ठाउँमा खटाइएका चिकित्सकलाई ठाउँमै काम गर्न दिऔं । यहाँहरुले सरुवाका लागि अनुरोध गर्नुहुन्न भन्ने मैले विश्वास लिएको छु ।’


मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम नपाइएको गुनासो सम्बोधन गर्न सरकारले क्रमैसँग रकम निकासा गर्ने प्रक्रिया थालेको जानकारी दिंदै मन्त्री पौडेलले साढे ३ अर्ब निकासा भएको र बाँकी रकम पनि क्रमैसँग किस्तामा जाने बताए । 

बैठकमा बोल्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुध्नप्रसाद सिंहले संघीयताको मर्मअनुरुप पहिलो पटक बैठक बसेको भन्दै यसलाई ऐतिहासिक भने । उनले जनशक्ति व्यवस्थापनको विषय चुनौतीपूर्ण भन्दै यसमा संघसँग मिलेर काम गर्ने बताए । 

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले अनुभव आदानप्रदान गर्ने अवसर दिएकोमा मन्त्री पौडेललाई धन्यवाद दिंदै प्रदेश सरकारले गर्ने अस्पताल स्तरोन्नतिमासमेत संघबाट साथ अपेक्षा गरेको बताए । 

लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले सहकार्यको सुरुवात राम्रो भएको भन्दै आफूहरुले स्थानीय तहको चिकित्स्क व्यवस्थापन प्रभावकारी बनाउन साथ दिने बताए । 

बैठकमा कोसीबाहेक सबै प्रदेशका स्वास्थ्य मन्त्रालय हेर्ने मन्त्रीहरु, गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरुसँगै स्वास्थ्य सचिवहरु तथा मन्त्रालयका विभाग र महाशाखाका प्रमुख सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ