arrow

विशाल हिरा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
hira.jpg

काठमाडौँ ।  बोत्सवानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ ।

उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी ‘लुकारा डायमन्ड कर्पोरेशन’ विज्ञप्तिमा जनाएको छ । 

लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी उल्लेख गरेको छैन । तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको तीन हजार १६ क्यारेटको कलिनन हिरापछिको दोस्रो ठूलो हिरा हो ।

“यो असाधारण दुई हजार चार सय ९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौँ”, लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भने ।

कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ । 

यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो । ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ । 

बोत्सवानाका राष्ट्रपति मोक्ग्वीत्सी मासिसीले बिहीबार यो विशाल ढुङ्गाको अवलोकन गर्नुभएको छ । उनको सरकारले यो विश्वको दोस्रो ठूलो हिरा भएको बताएको छ । 

युरोपको सबैभन्दा ठूलो अनलाइन हिरा व्यवसाय ‘७७ डायमण्ड’ का प्रबन्ध निर्देशक टोबियास कोर्मिन्डले यो कलिनन हिरापछि फेला परेको सबैभन्दा ठूलो कच्चा हिरा भएको बताए । 

“यो खोजका लागि धेरै हदसम्म नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ”, उनले भने ।

बोत्सवाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो । यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ । 

बिहीबार खोजको घोषणा हुनुअघि बोत्सवानामा फेला परेको सबैभन्दा ठूलो हिरा सन् २०१९ मा कारोव खानीमा लुकाराले उत्खनन गरेको एक हजार सात सय ५८ क्यारेटको ढुङ्गा थियो र यसको नाम सेवेलो राखिएको थियो । 

लुकाराले सन् २०२१ मा पनि उही एक्स–रे प्रविधि प्रयोग गरेर बोत्सवानामा एक हजार एक सय ७४ क्यारेटको हिरा फेला पारेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ