arrow

आन्तरिक विवादलाई तल्लो तहसम्म लगेर सहानुभूति बटुल्दै प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
maobadi-kendra-maoist-centre.jpg

काठमाडौँ । माओवादी केन्द्रभित्रको विवाद साम्य भएको भनिए पनि तल्लो तहसम्म पुर्याएर यसलाई दस्तावेजकै रुपमा प्रस्तुत गर्ने तयारी थालिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्न थाले पनि विवादलाई तल्लो तहमा छलफलको औपचारिक अनौपचारिक माध्यम बनाइएको हो ।

‘प्रदेशस्तरीय परामर्श बैठकको सुझाव सहितको आधारमा दस्ताबेज तयार पारेर केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने अध्यक्ष कमरेडको तयारी बुझिन्छ’, स्थायी समिति सदस्य राम कार्कीले भने । उनका अनुसार यसका लागि सबै प्रदेशमा छुट्टाछुट्टै परामर्श बैठक बोलाइएको छ ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत लगायतका पदाधिकारीको उपस्थितिमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श बैठकमा जनार्दन शर्माले उठाएका अधिकांश विषयमा छलफल भएको थियो । 

‘पार्टी कमजोर भएको संगठनमा ह्रास आएको र पार्टीका नेताहरु सुविधाभोगी भएको विषयमा पर्याप्त छलफल भएको छ र सवैले विषयलाई स्वीकार गरेका छन् । यद्यपि नेतृत्व परिवर्तन भन्दा पनि सच्चिनुपर्ने आवाज बढी उठेको छ’, बागमती प्रदेश समितिमा उपस्थित भएका एक नेताले भने ।

ती नेताका अनुसार प्रचण्डले शुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुनेका थिए । उनले विशेष महाधिवेशनसम्म विचारको विकास गरेर अगाडि बढ्ने बताएका थिए । यद्यपि विशेष महाधिवेशनको मिति तोकिएको छैन । गत स्थायी समिति बैठकमा विशेष महाधिवेशनबारे नेताहरूको धारणा बाझिएको थियो । 

कार्कीका अनुसार पार्टीभित्र फरक मत दर्ज भएको विषयमा पार्टीका सबै तहमा प्रचण्ड आफैँले छलफल गराउन खोजिरहेका छन् । जसको परिणाम बागमती प्रदेश समितिको बैठकमा नेताहरुको व्यापक आलोचना भएको थियो ।

बैठकमा सुशासन कायम गर्ने क्रममा कांग्रेस र एमालेमा तरंग पैदा भएको र सोही कारण सरकार माओवादीले छाड्नुपरेको दाबी प्रचण्डले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका थिए । 

सरकार छाडेर पनि विजयको भावसहित निस्केको उनको भनाइ थियो । ‘हामीले सामाजिक न्यायसहित सुशासन र समृद्धिको पक्षमा काम गर्दै थियौँ । सुशासनको प्रयास गर्दा कांग्रेस–एमालेमा तरंग पैदा भयो । हामी सरकार छाडेर पनि विजय भावका साथ बाहिरिएका छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने ‘अध्यक्ष प्रचण्डले धेरै आश्वस्त पार्न खोज्नु भयो तर तलबाट प्रश्न भने उठिरह्यो ।’

बागमती प्रदेशमा ५–६ भदौ, विशेष सम्पर्क समन्वय प्रदेशमा ७–८ गते भएको छ । गण्डकीमा ९–१०, सुदूरपश्चिममा १२–१३, कर्णालीमा १४–१५, लुम्बिनीमा १६–१७ मा परामर्श बैठक बस्नेछ । 

तीनवटा केन्द्रीय आयोगको १८, मधेशमा २२–२३, कोशीमा २४–२५ मा परामर्श बैठक हुनेछ । 

यस्तै जनवर्गीय संगठन र मोर्चाको २७–२८, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च र आयोगको २९–३० भदौ र प्रवास प्रदेशको ३१ भदौ–१ असोजमा संयुक्त परामर्श बैठक बस्नेछ ।’ 

जनार्दन शर्माले स्थायी समितिमा पेश गरेको फरक मतलाई प्रचण्डले यी बैठकमा राख्ने गरेका छन् । तर उनले आफ्रनै भनाई अन्र्तगत पार्टीमा आएको विवादलाई सुल्झाउने गरी राख्न लागेका हुन् यी बैठकमा शर्मालाई बोलाइएको छ तर बोल्न सीमित गरिएको छ’, माओवादीका एक पदाधिकारीले भने । 

बागमती प्रदेशभित्रका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी बैठकमा शर्माले पार्टीका समस्या उठाउने र निर्माणका कुरा लिखित रूपमा राख्दा आफूलाई पार्टी फुटाउन लागेको भन्दै प्रचार गरिएकोमा गुनासो गरेका थिए । 

‘मैले पार्टी फुटाउँछु भन्ने लागेकै छ भने म के गरौं ? भगवान गुहारौं कि प्रचण्ड गुहारौं’, उनले भने, ‘म बोल्दै नबोली ठुस्केर बसेर पार्टी एकताबद्ध हुन्छ भने म चुप लागौंला तर, मलाई लाग्छ आफ्नो कुरा जोडदार राखेर मात्रै पार्टी एकताबद्ध हुन्छ ।’ उनले यसो भनिरहँदा प्रचण्डकै अगाडि ताली बजेको थियो । 

बैठकमा बोल्ने पार्टीका अधिकांश नेताहरु भने  फरक मत राखेको भन्दै शर्माको चर्को आलोचना गरेका थिए ।  त्यसको प्रतिउत्तरमा उपमहासचिव शर्माले प्रतिप्रश्न गरेको पनि बैठकमा सहभागी एक नेताले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ