arrow

डेंगी परीक्षण: नेशनल प्याथ ल्याबबाट वडाध्यक्ष नै ठगिएपछि

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ ९ आइतबार
national-path-lab-illegal-d.jpg

लुम्बिनी । भरपर्दो र विश्वासिलो रुपमा परिचित हुँदै आएको नेशनल प्याथ ल्याब बुटवलमा डेंगी परीक्षणका लागि पुगेका बुटवल उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष नै ठगिएका छन् । 

देशका ७५ वटा जिल्लाहरुमा डेंगीका बिरामीहरु बढ्दै गएपछि सर्वसाधारणहरुलाई सहुलियत होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ ५ गते सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरुको प्रतिनिधिहरुको बैठक बसी डेंगी परीक्षण गरेबापत पाँच सय रुपैयाँ लिनुपर्ने निर्णय भएको थियो ।

उक्त बैठकमा भएका निर्णय सहितको पत्रलाई जिल्लाका १६ वटै पालिकाहरुलाई परिपत्र गरिसकेको भए पनि शनिबार बुटवल उपमहानगर १० का वडाध्यक्ष बलबहादुर पुनलाई परीक्षणमा १ हजार दुई सय लिइएपछि सीडीओ कार्यालयमा भएको निर्णय विपरीत शुल्क लिइएको हाम्राकुरालाई प्राप्त बिलमा उल्लेख छ ।

नेशनल प्याथ ल्याबका सेवाग्राही बन्न पुगेका वडाध्यक्ष पुनले भने, 'म शनिबार ५ बजेर ५७ मिनेटमा गएको थिए । हप्ता दिनसम्म ज्वरो आएर औषधि सेवन गरेपछि कमजोरीपन थियो, डेंगीको शंका लागेर  परीक्षण गर्न गएको शुल्क एक हजार दुईसय लिँदा मैले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णयबारे त्यहाँका दुई जना महिला कर्मचारीलाई बुझाउँदा पनि उहाँहरुले मेरो कुरा सुन्नु भएन ।'

उनले थपे, 'हामीजस्तो जनप्रतिनिधि नै ठगिन्छौँ र नियमबारे जानकारी गराउँदासमेत कुनै सुनुवाइ हुँदैन भने अन्य सेवाग्राही नागरिकहरु कति ठगिन्छन् र कसले आवाज सुन्ला ।' 

नेशनल मात्रै होइन बुटवलका अधिकांश अन्य ल्याबहरुले एक हजार रुपैयाँ डेंगी परिक्षणमा लिँदै आएको पाइएको छ ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा सहायक निर्देशक जनस्वास्थ्य अधिकृत युवराज पाण्डेले जिल्ला जनस्वास्थ्यबाट आएको पत्रलाई सबै वडाहरुमा पठाइसकेको बताए । पत्रमा विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुले डेंगी रोगको परीक्षण शुल्कमा विविधता देखिएकाले विपतजन्य संवेदनशीलतालाई ध्यानमा राखेर पाँच सय रुपैयाँ लिनुपर्ने उल्लेख छ । सोही नियमलाई लागू गर्नुपर्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल भन्छन्, 'जिल्ला प्रशासनमा बसेको बैठकमा जिल्लाका सरकारी, सामुदायिक र निजी स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुपनि आउनु भएको थियो। उहाँहरुले नै तोकिएको शुल्क लागू गर्नेगरी निर्णय भएको हो । यसमा कसैले मलाई थाहा भएन, थिएन भनेर नागरिकसँग बढी शुल्क लिन पाइन्न । यदि कसैले लिएको पाइएमा तत्काल अनुगमन गरी प्रमाण फेला परेमा कारबाही गर्नेछौँ ।'

प्रमुख ढकालले नेशनल प्याथको बारेमा आफूलाई पनि प्रमाणसहितको गुनासो आएको बताउँदै त्यहाँ भएको थियो ? जनप्रतिनिधिले बुझाउन खोज्दा पनि किन सुनिएन यसबारेमा कार्यालयले अनुगमन गर्ने बताए । नियम विपरीत जाने जो कोहीलाई कानूनी कट्घरामा ल्याउने उनले बताए ।

नेशनल प्याथ ल्याव बुटवलका प्रमुख प्रकाश न्यौपानेले आफू सीडीओ कार्यालयमा भएको बताउँदै उक्त नियमबारे आफू अनभिज्ञ भएको सुनाउँदै आज मात्रै पत्र पाएको र सोमबारदेखि ५ सय रुपैयाँ लिएर लागू गर्ने जनाए ।

आइतबार नै पत्र पाइसकेपछि किन सोमबारदेखि लागू हुन्छ भन्ने जिज्ञासामा उनले आज धेरै परीक्षण नभएकाले भोलिदेखि लागू गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ