arrow

हिले-जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
hile-jaljale-kavre.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले वनमा ताल निर्माण गर्न थालिएको जनाइएको छ ।

शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलमा बन्न लागेको तालमा ८२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको मङ्सिर महिनाभित्र निर्माण सक्नेगरी काम भइरहेको निर्माण कम्पनी विजय-लोटस-तेजस्वी जेभीका गणेश मोक्तानले बताए ।

“अविरल वर्षाका करण केही दिनबाहेक काम भइरहेको छ, निर्धारित समयमै काम सक्ने लक्ष्य लिएका छौँ”, उनले भने,“निर्माणाधीन तालको हाल भुइँमा ढलान तथा ताल वरपर पर्खाल लगाउने काम सकिएको छ भने ‘फिनिसिङ’ गरी तालमा पानी थुन्ने काम बाँकी छ ।”

ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध बाँधिएको छ । तल निर्माणका लागि रु पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

तालसहितका अन्य संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्ब्याइएको रहेको छ ।

ताल निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलले वन क्षेत्रको एक सय २९ रूख कटानको स्वीकृति दिएपछि ताल निर्माण थालिएको थियो ।

यस्तै, त्यसअघि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो ।

डिपिआरमा तालमा डुङ्गा सञ्चालन तथा आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरणका काम हुने जनाइएको छ ।

यस्तै, तालमा परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्नेगरी योजना बनाइने र ताल क्षेत्र वरपरका रूखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ ।

दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायत अन्य पूर्वाधार निर्माण गरिनेसमेत गुरुयोजनामा उल्लेख गरिएको छ । ताल निर्माण सम्पन्न गरिएपछि सङ्घीय राजधानी काठमाडौँ नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा क्रमागत विकास अगाडि बढाइएको यहाँबाट निर्वाचित प्रतिनिधिसभा सांसद गोकुल बाँस्कोटाले बताए । उनकानुसार बनेपाको वासुकी क्षेत्र र हिले-जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधार बनाउन संरचना निर्माण गर्न लागिएको हो ।

सानो पोखरीमा अवस्थित हिले-जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । नगरकोटस्थित महादेव पोखरी र यस ताल क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ ।

यस्तै, वासुकी नाग हिले-जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही) को दिन पनौतीमा लाग्ने जात्रामा हिले-जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दछ ।

वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कंदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ । वासुकी नागले पनौतीको भ्रमण गरेको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आइएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ