arrow

निगमका तीन वटा जहाज ग्राउण्डेड, अन्तर्राष्ट्रिय उडान प्रभावित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
Nepal-Airlines-new.jpeg

काठमाडौँ । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । निगमको न्यारोबडी मंगलबार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । 

निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरू रद्द हुँदा यात्रुहरु प्रभावित बन्न पुगेका हुन् । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ भएका छन् । न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो । न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौँबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरूलाई दिनभर र्‍याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । 

उनले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको बताए । उनले अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने काम गरेको बताए । 

उनले भने,‘जहाज फेरि ग्राउण्डेड हुँदा केही समस्या परेको छ । तर यात्रुहरूलाई निगमले अलपत्र बनाउने काम गरेको छैन । जिम्मेवार अन्तर्राष्ट्रिय एयरलाइन्सको मूल्य मान्यता हुन्छ । यात्रुहरूलाई होटलमा बासको व्यवस्था गरी अन्य वायुसेवाबाट उडानको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउने काम गरिरहेका छौं ।’

प्रवक्ता पौडेललका अनुसार अन्तर्राष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नुपर्ने व्यवस्थाअनुसार निगमले नियमअनुसार यात्रुहरूलाई होटलमा राखेको उल्लेख गर्नुभयो । यसरी निगमले अन्तिम समयमा उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरूको व्यवस्थापन र टिकटमा मंगलबारको उडानबाट एक करोड रुपैयाँ गुमाउन पुगेको छ । 

निगमका प्रवक्ता पौडेलका अनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा रहेका छन् । तर एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । प्रवक्ता पौडेलले अलपत्र नभई सम्पूर्ण जाँच सकेर अगस्ट महिनामा नेपालमा ल्याउने तयारी रहेको उल्लेख गर्नुभयो । उनले अर्को वाइडबडी ‘सी–चेक’ कै लागि बुधवार बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिए । यता आन्तरिक उडानमा रहेका निगममा दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ । आन्तरिक उडान गर्ने एउटा ‘ट्विनअटर’ जहाज लामो समयदेखि बिग्रिएर बसेको छ । निगमले अहिलेको जहाज ग्राउण्डेडको समस्या अल्पसमयको लागि भएको भन्दै निगमले छिटै जहाजको व्यवस्थापन गरी नियमित उडान गर्ने उल्लेख गर्नुभयो । 

प्रवक्ता पौडेलले भने,‘नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी ३३०,दुई वटा २२० न्यारोबडी जहाज,दुई वटा ट्विनअटर जहाज सञ्चालनमा रहेको अवस्था हो । चार जहाज मध्ये नाइनएन एएल जेड जहाज आज दुबई हुँदै इटालीमा मर्मतको लागि जाँदै छ । निगमको एएलवाई जहाज इटलीमा नै मर्मत भइरहेको छ । उक्त जहाज अगस्टभित्र नै आउने गरी काम भइरहेको छ ।’

निगमका अनुसार न्यारोवडी जहाजमा देखिएको समस्या अल्पकालीन रहेको भन्दै एक-दुई दिनभित्र समाधान हुनेछ । निगमका प्रवक्ता पौडेलले अन्य अन्तर्राष्ट्रिय उडानहरूमा पनि जहाज ग्राउण्डेड हुने समस्या भए पनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने गरेको बताए । उनले धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ