arrow

'वाल स्ट्रिट जर्नल'का प्रधानसम्पादकसहित ९२ अमेरिकी नागरिकमाथि रूसको प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
russia-america.jpg.jpeg

काठमाडौँ । रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
 
‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,”रूसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ । 

रूसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रूस-युक्रेन द्वन्द्वकाबीच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्महरू र वित्तीय संस्थाहरूका नेताहरू समावेश रहेका छन् । 

रूसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सुचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ । 

प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘रूस र रूसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झुटो प्रसारमा संलग्न प्रमुख उदार-विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्,” विदेश मन्त्रालयले भनेको छ ।

सूचीबद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल(डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहएका छन् । 

सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीहरूमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्युरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन्। 

प्रतिबन्ध गरिएका मानिसहरूको सूचीमा न्युयोर्क टाइम्सका पाँचजना पत्रकार, वासिङ्टन पोस्टका चारजना पत्रकार र केलायती पत्रिकाका केही पत्रकारको नाम पनि सूचीकृत छ । 

अमेरिकी स्पेस कमान्डका कमान्डर स्टिफन ह्वाइटिङ, स्पेस सिस्टम कमान्डका कमान्डर फिलिप ग्यारान्ट र स्पेस पोलिसीका लागि सहायक उप-रक्षामन्त्री जोन प्लम्ब पनि प्रतिबन्धको सूचीमा परेका छन् । 

“अमेरिकी शासक वर्गले रूसमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा रूसले यो प्रवेश प्रतिबन्ध जारी गरेको र रूस विरोधी गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई समावेश गरेर यो सूची विस्तार गर्ने अभ्यास दृढता र स्थिरताका साथ जारी रहनेछ,” रूसी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि, अमेरिकाले ‘युक्रेनमा क्रेमलिनको अवैध युद्ध’ का लागि रूस र बेलारूसमा अमेरिकी उत्पादन र ‘अमेरिकी ब्रान्डेड’ वस्तुको आपूर्तिलाई प्रतिबन्धित गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ