arrow

युद्धग्रस्त गाजामा ठूलो मात्रामा पोलियो खोप अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
polio-gaza.jpg

काठमाडौँ । प्यालिस्टिनी स्वास्थ्य अधिकारी र संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले आइतबार गाजापट्टीमा पोलियो खोप अभियान शुरु गरेका छन । यसबाट इजरेल–हमास युद्धबाट ध्वस्त भएको यस क्षेत्रमा यसको प्रकोप रोक्न सकिने अपेक्षा गरिएको छ । 

अधिकारीहरूले गाजा पट्टीको अधिक विनाशकारी उत्तरी र दक्षिणी क्षेत्रमा जानुअघि बुधबारसम्ममा मध्य गाजामा बालबालिकालाई खोप शुरु गर्ने योजना बनाएका छन् । शनिबार यो अभियान थोरै सङ्ख्यामा खोप दिएर शुरु भयो र यसको लक्ष्य करिब छ लाख ४० हजार बालबालिकासम्म पुग्ने रहेको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरेल खोप अभियानलाई सहज बनाउन युद्धमा सीमित विश्राम गर्न सहमत भएको बताएको छ । 

आइतबार बिहानै मध्य गाजामा इजरेली आक्रमण शुरु भएको समाचार थियो तर आक्रमणमा मारिएको वा घाइते भएको तत्काल थाहा भएको छैन । इजरेलले जारी गरेको कार्यक्रमअनुसार यो विश्राम आइतबार दिउँसो समाप्त भएको छ । 

देयर अल–बलाह र नुसिरतका अस्पतालहरूले खोप अभियान शुरु भएको पुष्टि गरेका छन् । इजरेलले खोप अभियान कार्यक्रम प्रत्येक दिन आठ घन्टाका हिसाबले सेप्टेम्बर ९ सम्म जारी रहने बताएको छ । 

गाजामा हालै २५ वर्षमा पहिलो पटक हाल खुट्टामा पक्षघात भएका १० महिनाका बालकमा पोलियो भएको फेला परेको छ । डब्ल्यूएचओका अनुसार पक्षघातको मामिला देखिनुले सङ्क्रमित भएका तर लक्षण नदेखिएका सयौँ बढी हुनसक्ने सङ्केत गर्दछ । 

पोलियो भएकाहरू अधिकांशले लक्षणहरू अनुभव गर्दैनन् र तिनीहरू सामान्यतया एक वा दुई सातामा ठीक हुन्छन् । तर पोलियोले पक्षघात निम्त्यायो भने यसको उपचार छैन । पक्षघातले श्वासप्रश्वासका मांसपेशीहरूलाई प्रभावित गर्यो भने यो रोघ घातक हुनसक्छ । 

जारी युद्धदेखि लिएर ध्वस्त सडक र युद्धका कारण बन्द भएका अस्पतालहरूसम्म खोप अभियानले चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । 

गाजाका २३ लाख जनसङ्ख्यामा करिब ९० प्रतिशत मानिस घेरामा परेको क्षेत्रमा विस्थापित भएका छन् र तीमध्ये हजारौँ मानिस पालका शिविरहरूमा भरिएका छन् । 

सङ्कलन नगरिएका फोहरको थुप्रो र अत्यावश्यक पूर्वाधारमा भएको बमबारीले सडकमा फोहर पानी बगिरहेकाले स्वास्थ्य अधिकारीहरूले पोलियो रोगको प्रकोप बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पोलियो दिसाबाट फैलिन्छ । व्यापक भोकमरीले मानिसहरूको रोगलाई अझ संवेदनशील बनाएको छ । 

चिकित्सा केन्द्र र विद्यालयसहित सम्पूर्ण क्षेत्रमा करिब एक सय ६० स्थानमा खोप दिइने छ । दश वर्षभन्दा कम उमेरका बालबालिकालाई मौखिक पोलियो खोप दुई थोपा दुई चरणमा दिइने छ । दोस्रो खुराक पहिलो खुराकको चार सातापछि दिइने छ । 

इजरेलले गत महिना करिब १३ लाख खुराक आफ्नो क्षेत्रमा ल्याउन अनुमति दिएको थियो । ती खोपलाई अहिले देयर अल–बलाहको गोदाममा फ्रिजमा भण्डारण गरिएको छ । चार लाख खुराकको खेपलाई चाँडै गाजामा पुर्याइने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ