arrow

अबको तीजको लडाइँ आर्थिक क्रान्तिका लागि 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ भदौ १८ मंगलबार
teej-81-5-18----.jpg

ढुंखर्क । बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्न आवश्यक रहेको बताएकी छिन् । 

बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री खड्गीले राणा शासन फाल्न, निरंकुशता फाल्न, प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरुले अबको लडाइँ आर्थिक क्रान्तिका लागि लड्न आवश्यक भएको बताइन् । 

नारीलाई घरकै गृहमन्त्री, घरकी लक्ष्मी भनेर घरभित्रै सीमित गरिएकोमा घर हाँक्ने मात्र नभई देशै हाक्न नारी सक्षम भएको बताइन् । एक प्रसंगमा उनले गाउँपालिकालाई महिलाका विभिन्न आयामहरुमा लगानी गर्न आग्रह गरिन् । 

उनले संविधानमा महिला हक अधिकार सुनिश्चित गर्न लडेको स्मरण गर्दै त्यसैको परिणाम महिलाहरुले मुलुकका विभिन्न तह र तप्कामा कुशलतापूर्वक नेतृत्व गरिरहेको बताइन् । उनले तीजमा नारीले धारण गरेको रातो पहिरणले नारी शक्ति स्वरुपिणी भएको बताउँदै तीजका सांस्कृतिक र पौराणिक पक्षलाई निरन्तरता दिन पनि आग्रह गरिन् ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तिकरणको पाटोमा जिम्मेवार हुन सके मात्र समुन्नत समाज निर्माण हुने बताइन् । उनले जुन घरमा नारीको सम्मान हुन्छ उक्त घरमा सुख र शान्ति छाउने हुँदा तीजले सिकाएको नारी शक्तिको सम्मान गर्न आग्रह गरिन् । 

कार्यक्रमको सभापतित्व गरेका गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नारी शक्तिले नेतृत्व गर्ने समय आएको बताउँदै अबको नेतृत्वका लागि तयार रहन आग्रह गरे । उनले चुल्हो चौकोको परिधि नाघेर सशक्तिकरणको नेतृत्व लिनु पर्ने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष तारा राणाले स्वागत मन्तव्यका क्रममा कुराले मात्र महिला अघि बढ्न नसक्ने भएकोले महिलाका क्षेत्रमा उल्लेख्य लगानी गर्न आवश्यक रहेको बताइन् । उनले गाउँपालिकाले महिला विकासमा लागि लगानी गरिरहेको पनि जानकारी दिइन् । 

कार्यक्रममा नवराज ढुंगाना, स्मृति गौतम, वाइपी घिमिरे, गोपाल तिमल्सििना, टंककृष्ण तिमल्सिना, सन्तबहादुर थापा मगर, सोना थापा मगर लगायतका कलाकारहरुले लोक दोहोरी गीत संगीतले मनोरञ्जन गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ