arrow

तनहुँमा डेङ्गी सङ्क्रमित बढे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
dengue--ji-ha.jpeg
फाइल तस्बिर

तनहुँ । तनहुँमा दैनिक डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गी सङ्क्रमण देखिएको छ । 

डेङ्गी सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यतिबेला जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार नौ सय ६० जनामा डेङ्गी सङ्क्रमित पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा सङ्क्रमित देखिएका छन् । जसमा एक हजार तीन सय १९ जना रहेको स्वास्थ्य शाखा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 

उनका अनुसार शुक्लागण्डकीमा दुई सय ३५, व्यासमा दुई सय १९, बन्दीपुरमा एक सय १५, म्याग्देमा ३०, भानुमा १९, देवघाटमा नौ, भीमादमा सात, ऋषिङ तीन र अन्य जिल्लाका चार जना रहेका छन् ।  

डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन थालिएको व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।

प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरु बताउँछन् । 

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेङ्गीका बिरामी हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ