arrow

पोखरा र होकुतो सहरबीच पर्वतीय नगर मित्रता कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
pokhara-japan-friendship.jpg

पोखरा । पोखरा महानगरपालिका र जापानको होकुतो सहर बीच पर्वतीय नगर मित्रता कायम भएको छ । सोसम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चरस्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रबार हस्ताक्षर गरे ।

पोखरा महानगर प्रमुख आचार्यले दुवै नगरबीच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको बताए ।

उनले भने, ‘दुवै सहरका नागरिक एकर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अघि बढाउन प्रतिबद्ध रहने छन् ।’

‘पोखराको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो, त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ’, नगर प्रमुख आचार्यले भने ।

उनले थपे, ‘पछिल्लो पटक १५औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ, यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासको आदानप्रदानमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतो बीच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

होकुतो नगरका नगर प्रमुख उएमुराले अन्तर्राष्ट्रिय मैत्रीभावद्वारा प्रेरित भई दुवै सहरका नागरिकबीच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्यसहित द्विपक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अघि बढाउन समझदारी भएको बताए ।

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा र होकुतो नगरका बिचमा अनुभव आदान प्रदान र नयाँ सिकाइका लागि यो सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पोखरा-२ का वडाध्यक्ष दिवसमान प्रधानांगले पर्वतीय पर्यटनको प्रवर्द्धन नयाँ उचाइमा पुग्ने धारणा राखे ।

कार्यक्रमका लागि जापानबाट यामानासी प्रिफेक्चरका सभामुख मासाहितो उजुकी, सांसद फुजिमोतो योसिहिको, नेपाल जापान फ्रेन्डिसिप एसोसिएसनका हिरोमी इसिकावालगायत सहभागी थिए ।

पोखराले विदेशका १३ र देशभित्रमा दुई नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ