arrow

आर्मीमाथि एपीएफको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
army-apf-81-5-22.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपीएफले जारी लिगमा पहिलो सफलता आत्मसात् गरेको हो । एपीएफको जितमा सविता रानामगर र गीता रानामगरले गोल गरे । 

आर्मीका विमला चौधरीले एक गोल फर्काइन् । यो जितसँगै एपीएफ दुई खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट तीन अंकसहित आर्मी पाँचौँ स्थानमा झरेको छ । यसअघि पहिलो खेलमा एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीको नतिजा सामना गर्दा आर्मीले भने संकटालाई ४–० ले पराजित गरेको थियो ।

तर दोस्रो खेलमा भने आर्मी साविकको विजेता एपीएफसँग पराजित हुन पुग्यो । पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा दुई गोल सम्भव भएको हो । खेलको दोस्रो मिनेटमै आर्मीले अग्रता लिने अवसर खेर फाल्यो । 

चन्द्रा भण्डारीको पासमा हिमा चौधरीले गोल गर्न सकिनन् । १६ औं मिनेटमा पनि आर्मीले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । एपिएफकी गोलकिपर सावित्री किसन नै बिट भएको अवस्थामा दीपा राई र चन्द्रा भण्डारीबीच तालमेलन नमिल्दा खाली पोस्टमा नै गोल गर्न सकेनन् । चन्द्राको लेफ्ट फुटेट फितलो प्रहार पहिलो बार हुँदै बाहिरिन पुग्यो । 

३३ औं मिनेटमा एपीएफकी प्रीति राईले करिब २२ यार्डबाट गरेको फ्रिकिक प्रहारले सफलता पाउन सकेन । ४६ औं मिनेटमा चन्द्रा भण्डारीको हेडर पनि एपीएफकी गोलकिपर सावित्राले सहजै रोकिन् । 

पहिलो थप समय सकिन तीन सेकेण्ड समय बाँकी छँदा एपिएफले गोल ग¥यो । कप्तान अनिता बस्नेतको कर्नर प्रहारबाट प्राप्त बललाई सविता रानामगरले गोल गर्दै अग्रता दिलाइन् ।

तर दोस्रो हाफमा आर्मी बराबरीमा फर्कियो । यद्यपि ५४ औं मिनेटमा सविताले नै गोल गर्दै अग्रता दोब्बर बनाउने अवसर गुमाइन् । सरु लिम्बूको क्रसमा उनी आर्मीकी गोलकिपर अञ्जना रानामगरसँग वान भर्सेस वानमा गोल गर्न असफल भइन् । 

तर तीन मिनेपछि आर्मी विमला चौधरीको गोलबाट खेलमा फर्कियो । विमला थापाको लामो क्रस बललाई एपीएफका डिफेन्डरले क्लियर गर्न नसक्दा विमलाले करिब १८ यार्डबाट सुन्दर गोल गरिन् । 

६२ औं मिनेटमा अनिता केसीले लेफ्ट साइडबाट गरेको सशक्त प्रहार आर्मीकी गोलकिपर अञ्जनाले उत्कृष्ट बचाउ गरिन् । तर पाँच मिनेटपछि नै एपीएफले पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । आर्मीकी गोलकिपर अञ्जनाले अनिता केसीलाई लडाएपछि एपिएफले पेनाल्टीको अवसर पाएको हो । सो अवसर सदुपयोग गर्दै एपिएफलाई अग्रता दिलाइन् । 

८५औं मिनेटमा एपिएफकी सरुले वान भर्सेस वानमा गरेको प्रहारमा आर्मीकी गोलकिपर अञ्जनाले बचाउ गरिन् । त्यस पछिको बाँकी समयमा पनि गोल हुन सकेन र एपीएफले विभागीय डर्बीमा सफलता पायो । एपिएफकी गीता रानामगर प्लेअर अफ दी म्याच घोषित भइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ