arrow

मनाइयाे अन्तर्राष्ट्रिय साक्षरता दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
kaski-sakchharata.jpg

पोखरा । कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रबीच चेतनामूलक तीज गीत प्रतियोगिता आयोजना गरी यो दिवस मनाइएको हो ।

प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाँडा सामुदायिक सिकाइ केन्द्र प्रथम, पोखरा महानगरपालिका वडा नं २५ स्थित बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र द्वितीय, पोखरा-२९ को दीपशिखा सामुदायिक सिकाई केन्द्र तृतीय र माछापुच्छ्रे गाउँपालिकाको मर्दिखोला सामुदायिक सिकाइ केन्द्रले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा सात वटा सामुदायिक सिकाइ केन्द्र सहभागी थियो । प्रथम हुन सफल समूहले १० हजार, द्वितीय भएको समूहले सात हजार, तृतीय भएको समूहले पाँच हजार र सान्त्वना स्थान हासिल गर्ने समूहले तीन हजार नगद पुरस्कार प्राप्त गरे ।

जिल्ला शिक्षा समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

पौडेलले सांस्कृतिक पर्व तीज सुसंस्कृत र समय सान्दर्भिक हुनुपर्ने भन्दै सिकाइ केन्द्रहरू थप व्यवस्थित बनाउन आफू प्रयत्नशील रहने बताए ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, राष्ट्रिय पीरक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटा, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कलाकार होम नेपालीलगायतले बोलेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका शाखा अधिकृत टंक बरालले स्वागत र शाखा अधिकृत भरतराज बरालले सञ्चालन गरेका थिए ।

प्रतियोगितामा लोकदोहोरी गायक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तारापति सुवेदी, लोकदोहोरी गायिकाद्वय माया गिरी र लक्ष्मी नेपाली निर्णायकको भूमिकामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ