arrow

गैँडाको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
One-horn-rhino.jpg

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको सूर्यपटुवास्थित शिव सामुदायिक वनको डल्लामा शुक्रबार एकसिङ्गे गैँडाको आक्रमणबाट ज्यान गुमाएका प्रकृति पथप्रर्दशक (नेचर गाइड) मनमोहन चौधरीको परिवारलाई जीविकोपार्जनवापतको सहयोग रकम उपलब्ध गराइएको छ । मृतक चौधरीको घरमै पुगी आज रु ५० हजार सहयोग हस्तान्तरण गरिएको हो । 

राष्ट्रिय प्रकृृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी)ले डिभिजन वन कार्यालय बर्दियामार्फत मृतक चौधरीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत टङ्कबहादुर गुरुङले जानकारी दिए । केही दिनभित्र लुम्बिनी प्रदेश सरकारले ‘पीडितसँग प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत रु एक लाख राहत हस्तान्तरण गरिने उनले बताए । 

मृतकका परिवारलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको राष्ट्रिय प्रकृृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी)का संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए । वन्यजन्तुबाट ज्यान गुमाउने मृतकका परिवारलाई एनटीएनसीले जीविकोपार्जनवापत सहयोग गर्दैआएको छ । 

शुक्रबार मधुवन नगरपालिका–१ स्थित डल्ला सामुदायिक वनमा विदेशी पर्यटकलाई वन्यजन्तु अवलोकन गराउने क्रममा एकसिङ्गे गैँडाले पर्यटकलाई आक्रमण गरेपछि बचाउने क्रममा ठाकुरबाबा नगरपालिका–९ का ३५ वर्षीय नेचर गाइड चौधरीको घटनास्थलमै ज्यान गएको थियो । गैँडाको आक्रमणबाट अमेरिकी नागरिक ५६ वर्षीय एमसी लेनडन शावन घाइते भएका थिए । घटनास्थल भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने जैविकमार्गमा पर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ