arrow

ओलम्पिकमा कास्यको शान

पलेशालाई कांग्रेसले गर्‍यो पाँच लाख नगदसहित सम्मान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
palesha-congress-respect-(1.jpg

काठमाडौँ । नेपाली कांग्रेसले कीर्तिमानी पदकधारी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । कांग्रेसले पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोबाट कीर्तिमानी कास्यपदक जित्न सफल पलेशा, प्रशिक्षक कविराज नेगी लामा र सहभागी भरत महतालाई सम्मान गरेका हो । 

पलेशाले ५ लाख र कविराजले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

 पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

टोलीलाई बीपीनगर सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली छोरी पलेशाले पारालिम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।

उनले पलेशालाई बधाइ दिँदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिए । उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

सभापति देउवाले पलेशाका परिवार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय पारालिम्पिक कमिटी– नेपाललाई पनि धन्यवाद व्यक्त गरे ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउँदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।

कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुद मार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउँदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए । 

उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नु पर्ने बताउँदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताए ।

कस्तो रह्यो पलेशाको पेरिस पारालिम्पिक्स ?
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वार्टरफाइनलमा ब्रजिलकी सिल्भाना फर्नान्डेससँग २ अंकले अग्रता लिएको अवस्थामा अन्तिम २० सेकेन्ड सम्हालिन नसक्दा १०–८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् । 

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । 

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । 

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । 

त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यसैगरी  सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । 

सरकारबाट ६५ लाख पाउने
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छिन् । सरकारले उनलाई कर नकाटिकनै सबै ६५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् ।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल गृष्मकालीन–शीतकालीन–पारा–विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।

साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।

palesha-congress-respect (1).jpg
palesha-congress-respect (2).jpg
palesha-congress-respect (3).jpg
palesha-congress-respect (4).jpg
palesha-congress-respect (5).jpg
palesha-congress-respect (6).jpg
palesha-congress-respect (7).jpg
palesha-congress-respect (8).jpg
palesha-congress-respect (9).jpg
palesha-congress-respect (10).jpg
palesha-congress-respect (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ