arrow
ADVERTISEMENT

मधेश आन्दोलनका उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
satish-kumar-sing-madhesh.jpg

सप्तरी। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस आन्दोलनका सहिद तथा घाइतेको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा सप्तरीको भारदहमा आयोजित राउतको नवौँ स्मृतिसभामा उनले सहिदहरूको बलिदानीले मधेस प्रदेशसहित संघीयता स्थापना भएको उल्लेख गर्दै सहिदहरुले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै सरकार संघर्षरत रहेको बताए।

“सरकार मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै विकसित र समृद्ध प्रदेश निर्माणमा अग्रसर छ”, मुख्यमन्त्री सिंहले भने, “यहाँ व्याप्त गरिब बेरोजगारीलगायत समस्यालाई न्यूनीकरण गर्दै सहिदको रगत र बलिदानीबाट प्राप्त संघीयतासहितको अधिकार रक्षाका लागि सरकार पूर्ण रूपले प्रतिबद्ध छ।”

मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट सहिद भएका रामकृष्ण राउतलगायत मधेस आन्दोलनका वीर सहिदहरूको स्मरण गर्दै उनले सहिद परिवारलाई सीपमूलक तालिम तथा रोजगारमा जोड्न आवश्यक काम गरिने विश्वास दिलाए।

उनले  सहिदको स्मरणका  लागि भारदह अस्पतालको नाम सहिद रामकृष्ण राउत, राजीव राउत अस्पताल नामाकरण  तथा स्मारक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा भएको कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुख वीरेन्द्र माझी, जनमत पार्टीका नेता थानेश्वरप्रसाद साह, वडा नं १ का अध्यक्ष सुरेन्द्र मण्डल, लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन मण्डल, जयसुन्दर खिडहरी यादव लगायतकाले सहिदको सम्मानमा स्मारक निर्माणका लागि आग्रह गरे।

तेस्रो मधेस आन्दोलनका क्रममा भारदह चौकमा प्रहरीको गोली लागेर २०७२ भदौ २३ गते राउतको निधन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ