arrow
ADVERTISEMENT

लिदीखोला मोटरेबल पुल सात महिना अगावै निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
lidikhola-pool-parbat.jpg

पर्वत । पर्वतको मोदी गाउँपालिका-६ तिलाहारस्थित लिदीखोलामा मोटरेबल पुल निर्माण भएको छ । डिमुवा-राम्जा चित्रे सडकमा पर्ने लिदीखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै निर्माण सम्पन्न भएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०८० असोज २२ गते ठेक्का सम्झौता भएको थियो ।

मोदी गाउँपालिका-६ र ८ को सिमानामा रहेको लिदीखोलामा ‘सिङ्गल स्पान’को १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न पुल निर्माणको ठेक्का कस्तुरी कन्स्ट्रक्सनले पाएको थियो । यो पुलको भारवहन क्षमता ७० टन रहेको छ । 

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीको सहयोगका कारण  निर्धारित समय अगावै निर्माण भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए । उनका अनुसार पुल निर्माण सम्झौता आगामी फागुनसम्म रहेको थियो । 

यो पुल निर्माणपछि मोदी गाउँपालिका-७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण भइ सवारीसाधनसमेत सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जिता गिरीले जानकारी दिए । 

विगतमा वर्षायामको बेला खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । 

स्थानीय सडक पुल कार्यक्रम ‘एलआरबिपी’ र प्रादेशिक सडक पुल सहयोग इकाई ‘पिआरवी एसयु’को प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीय सडक पुल कार्यक्रमका ‘टेक्निकल अफिसर’ लोकेश राईले सबै अवस्था सहज भएकाले निर्धारित मिति अगावै पुल निर्माण भएको बताए । 

पर्वतमा गत आर्थिक वर्षमा योसँगै अन्य तीनवटा मोटरेवल पुल निर्माण सुरु भएका थिए । ती पुल धमाधम निर्माण भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ-बालाकोट सडकअन्तर्गत छत्तिसेघाट मोटरेबल पुल निर्माण भइरहेको छ । रु चार करोड ४३ लाखको लागतमा निर्माणाधीन उक्त पुल २५ मिटर लामो हुने छ । 

कुश्मा नगरपालिका-१० पिपलटारी र फलेवास नगरपालिका वडा नं ३ शङ्करपोखरी जोड्ने मल्याङ्दीखोला माथि पुल निर्माण भइरहेको छ । १६ मिटर लामो यो पुल रु चार करोडको लागतमा सम्पन्न हुने छ ।

यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिका-७ भोर्लेमा पनि भोर्ले खोला मोटरेबल पुल निर्माण सुरु भएको कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ