arrow

मन्त्री थापाका सय दिन : सामाजिक र स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
minister-bindu-kumar-thapa.jpg

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

२०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि एक सय दिनमा आफूले गरेका महत्वपूर्ण कामका उपलब्धि सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो ।

मन्त्री थापाले सय दिनमा सामाजिक विकासतर्फ र ९६ दिनमा स्वास्थ्यतर्फ भएका कामको विवरण आइतबार मन्त्रालयमा पत्रकार सामु प्रस्तुत गरे ।

प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनअन्तर्गत प्रदेशका २५ विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको उनले उल्लेख गरे ।

फ्राइडे फर फ्युचर कार्यक्रममार्फत् बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले बताए ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकलाई पेसागत तालिम उपलब्ध गराइएको उनले उल्लेख गरे ।

मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृतिको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशील बनाई महत्वपूर्ण काम गरिरहेको बताए ।

मनकामना क्षेत्रको सञ्चालन, संरक्षण, विकास एवं प्रवर्द्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको जानकारी उनले गराए ।

श्रम तथा रोजगारतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको भन्दै व्यवसाय गर्न चाहेका व्यक्तिलाई नयाँ सीपमूलक क्षेत्रको पहिचान गरी स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए ।

मन्त्री थापाले भने, “गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् । खेलाडी कल्याण कोषको स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ ।”

सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशील बनाउन काम गरिएको उनले बताए ।

खेलकुदका विभिन्न संघसंस्थासँग समन्वय गर्दै आवश्यक कार्यक्रमलाई अघि बढाउने काम भएको मन्त्री थापाको भनाइ छ ।

द्वन्द्वपीडित बेपत्ता, घाइते, अपाङ्ग, शहीद परिवार र विपन्न महिलाको उद्यम, व्यवसाय तथा रोजगारी प्रवर्द्धनमूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको उनले बताए ।

न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आँफै गर्न नसक्ने नागरिकलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवं पुनःस्थापना कार्यक्रम मन्त्रालयले सञ्चालन गरेको छ ।

उनले क्यान्सर उपचार सहायता कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले बिरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार गराउने गरी विभिन्न अस्पतालसँग सम्झौता गरेको बताए ।

बेनी, पर्वत, लमजुङ, स्याङ्जा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई विस्तार गरिएको जनाए ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविकामार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे ।

क्षयरोग जस्ता विभिन्न सर्ने रोग एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम सञ्चालनमा गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ