arrow
ADVERTISEMENT

‘पोइजन सूचना केन्द्र’ सरकारको प्राथमिकतामाः मन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
pradip-poudel.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोइजन सूचना केन्द्रले विष सेवन गरेकालाई दिनुपर्ने परामर्शको सरकारी स्तरमा राम्रो सुरुवात भएको बताएका छन् । 

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको ‘पोइजन सूचना केन्द्र’को पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भने, “अस्पतालको यो सेवा निकै राम्रो छ । यो केन्द्र सरकारको प्राथमिकतामा छ ।” 

उनले उक्त केन्द्रले देशभरका स्वास्थ्यकर्मीलाई विषसम्बन्धी जटिल बिरामीको व्यवस्थापनमा परामर्श तथा सुझाव प्रदानमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्रालय नीतिगत व्यवस्था र प्राविधिक सहकार्यका निम्ति तयार रहेको बताए । 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा दिव्या सिंह शाहले ‘पाइलट प्रोजेक्ट’ का रुपमा सुरु गरिएको यो केन्द्र अहिले राम्रोसँग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरिन् । 

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रका प्रमुख डा राकेश घिमिरेले एक वर्षमा संस्थाले दुई सय ७० वटा घटनामा समन्वय गरेको जानकारी गराए । 

उनले भने, “विष सेवन गरी भएका आत्महत्याको दरमा कमी ल्याउन केन्द्रले भूमिका निर्वाह गरिरहेको छ । यहाँ आउने बिरामी जटिल प्रकृतिका हुने गरेका छन् ।” 

नेपालमा भएका आत्महत्यामध्ये दोस्रो प्रमुख कारण विष सेवन रहेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार १८ दशमलव २० प्रतिशतको मृत्यु विष सेवनबाट हुने गरेको छ । त्यसमा पनि विषादीको प्रयोग गरेर मर्नेको सङ्ख्या उच्च छ । 

प्रमुख डा घिमिरेले भने, “हामीसँग विष सेवनपछि जटिलता र जोखिमबारे आकलन गर्न सक्ने विज्ञको टिम पनि छ । यसको देशभर सञ्जालका साथै अन्तर्राष्ट्रिय विज्ञसँगको समन्वय पनि भइरहेको छ ।”

यस केन्द्रले विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाउने काम गरिरहेको छ । विष सेवनपछिको उपचारका विषयमा कुनै जानकारी आवश्यक परेमा सेन्टसरमा २४ सै घण्टा ०१-४५०२०११ मा फोन गर्न सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ